काठमाडौं,
चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा. गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन् ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत थिए । ६३ वर्षीया डा. केसीले सोमबार (आज) देखि अवकाश पाउने अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले जानकारी दिए ।
यस अघि डा केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक फरक जन्ममिति भेटिएपछि विवादमा परेका थिए । डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ रहेको छ । सोही आधारमा नै केसीले सोमबार (आज) देखि अवकाश पाउने छन् ।
आन्दोलन कायमै राख्ने अडान
डा. केसीले चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ । चारबुँदे माग राखेर ०६९ असार २१ मा उनले पहिलो पटक अनशन सुरु गरेका थिए । पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए।
अवकाश पाएपछि पनि डा. केसीले चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी राख्ने संकेत दिएका छन् । डा. केसी निकट स्रोतका अनुसार अवकाश पाएको दिन अर्थात् सोमबार (आज) बिहान शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्दैछन् ।
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी सिफारिसका सम्बन्धमा विरोध जनाउँदै डा. केसीले दलीय भागवण्डा विरुद्ध अनशनको चेतावनी दिने बताइएको छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया