यी हुन् नेपाल-चीनबीच भएका २० समझदारी

यी हुन् नेपाल-चीनबीच भएका २० समझदारी

केन्द्रबिन्दु
0
Shares

नेपाल र चीनबीच द्विपक्षीय २० वटा समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर भएको सम्झौता पत्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ् यीबीच आदानप्रदान भएको छ । त्यस्तै परराष्ट्र सचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ। त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ।यसबाहेक स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको छ। त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ।

नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवर्द्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जा, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, मदन भण्डारी विश्व विद्यालयलगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ ।

यी हुन् सम्झौंताहरु

१. दुई देशबीच सीमा व्यवस्थापन प्रणाली।

२. सुशासन क्षमता विकासमा आदानप्रदान तथा सहयोग सम्बन्धी समझदारी।

३. फौजदारी मामिलामा पारस्परिक कानूनी सहायतासम्बन्धी सन्धि।

४. सगरमाथा संरक्षण सहकार्यसम्बन्धी समझदारी।

५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका महत्त्वपूर्ण परियोजनाको प्रवर्द्धन तथा सहकार्य उत्पादनमूलक क्षमता विकास।

६. छङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापनासम्बन्धी नोट आदानप्रदान।

७. नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल सीमापार रेलवे परियोजना सम्बन्धी समझदारी।

८. कठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध स्थापना।

९. बुटवल र शियान शहरबीच भगिनी सम्बन्ध स्थापना।

१०. नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत औषधिसम्बन्धी राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिसम्बन्धी समझदारी।

११. नेपालको गृह मन्त्रालय र चीनको विपत् व्यवस्थापन मन्त्रालयबीच विपत् जोखिम न्यूनीकरण तथा आपतकालीन सहयोगसम्बन्धी समझदारी।

१२. नेपालको महान्यायाधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेरबीच सहकार्यको समझदारी पत्र।

१३. नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्सिटच्युट मुख्यालयबीच त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सहमति।

१४. नेपालको कृषि मन्त्रालय र चीनको भन्सार विभागबीच अमिलो फलफूलको गुणस्तर मापनसम्बन्धी प्रोटोकल।

१५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापार सम्बन्धी संयुक्त कार्यदल गठनको समझदारी।

१६.  चीनको सहयोगमा नेपालमा भइरहेको भूकम्पपछिको पुनर्निर्माण परियोजनाको निरीक्षणको डेलिभरी यान्ड एक्सेप्टेन्स प्रमाणपत्र।

१७. नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहकार्य कार्यदल गठनको समझदारी।

१८. नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य निकायबीच सुरुङमार्ग निर्माण सहकार्यको समझदारी।

१९. सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण सम्बन्धी पत्र आदानप्रदान।

२०. काठमाडौं उपत्यकामा चीनको सहयोगमा महानगरीय खानेपानी सुधार परियोजनाको सम्भाव्यता अध्ययनको बैठकको टिपोट ।

Logo