कलाकारहरूको दशैं

कलाकारहरूको दशैं


दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । हिन्दूधर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदाका दिनबाट नवमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाउने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ पनि भनिन्छ । दशैंमा प्रायः मानिसहरू आफ्नो थातथलो जाने गर्छन् । दशौं दिनमा आफ्ना नाताकुटुम्ब ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने, नयाँ नयाँ कपडाहरू लगाउने, घुम्न जाने, घरआँगन, बाटोघाटो, गाउँबस्ती सफासुग्घर राख्नेजस्ता कामहरू गरेर बडो हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको सन्दर्भमा केन्द्रविन्दुकर्मी सिर्जना राईले कलाकारहरूसँग कुराकानी गरेकी छन् । कलाकारहरूले कहाँ र कसरी मनाउँदै छन् त यसपालिको दशैं –

अनुप विक्रम शाही – अनुप विक्रम शाही दशैं सधैं काठमाडौँमै मनाउने गरेको बताउँछन् । परिवार, साथीभाइ, इष्टमित्र सबै काठमाडौंमा भएकाले दशैंमा परिवार, साथीभाइहरूसँगै रमाइलो हुने भएकाले बाहिर खासै घुम्न नजाने बताउँछन् ।

नाजिर हुसेन – नाजिर हुसेन मुस्लिम भए पनि मज्जाले दशैं मनाउँछन् । यसपालि उनी दशैंमा परिवारसँग दोलखा जाने र परिवारसँगै रमाइलो गरेर दशैं मनाउने बताउँछन् ।

पुष्प खड्का – पुष्प खड्काले यस यसपालिको दशैं भारतको पुनेमा मनाउँदै छन् । दिदी र भान्जीहरू पुुनेमा भएकाले यसपटकको दशैं मनाउन उनी पुने गएका हुन् ।

सञ्चिता लुुइँटेल – सञ्चिता लुुइँटेलले दशैंको नवरात्र आरम्भबाट नौ दिन (नवमी) सम्म व्रत बस्ने गरेको र दशौं दिनमा चाहिँ आफूभन्दा ठूलाबडाको हातबाट टीका लगाउने, मिठा मिठा परिकार बनाएर खाने खुवाउने योजना रहेको बताउँछिन् ।

गौरव पहारी – गौरव पहारीले पहिले पहिले आफ्नो जन्मथलो नवलपरासीमा दशैं मनाउँथे । तर उनी यसपालिको दशैं काठमाडौंमा मनाउने योजना रहेको बताउँछन् ।

किरण केसी – किरण केसीले अघिल्लो वर्ष अमेरिकामा दशैं मनाएका थिए । यसपालिको दशैं भने आफ्नै देश नेपालमा बबाल तरिकाले मनाउने बताउँछन् ।

मेरुना मगर – मेरुना मगर यसपालिको दशैं धरानमा मनाउने बताउँछिन् । आफ्नो पुख्र्यौली घर तथा मामाघर पनि धरान भएकाले उनी दशैं मनाउन धरान गएको बताउँछिन् । पहिले उनी दशैं लन्डनमा मनाउने गर्थिन् ।

निर्मल शर्मा – निर्मल शर्मा पनि यसपालिको दशैं काठमाडौंमा मनाउने बताउँछन् । उनी पुस्तकप्रेमी भएकाले यो दशैंको फुर्सदको समयमा पुस्तकहरू पढ्ने बताउँछन् ।

Logo