महरा प्रकरण : २४ घण्टामै आरोपकर्ताको भनाई फेरियो -“सभामुख रिसको झोकमा पर्नुभयो”

महरा प्रकरण : २४ घण्टामै आरोपकर्ताको भनाई फेरियो -“सभामुख रिसको झोकमा पर्नुभयो”

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सभामुख कृष्णबहादुर महरामाथि दुर्व्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको बताएकी छिन् । सञ्चारकर्मीसँग मंगलबार कुराकानी गर्दै उनले आफू चार, पाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाह बमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन् ।

“मेरी आमाको निधन भएपछि म मानसिक रुपमा कमजोर भएको छु । निद्रा नलाग्ने भएपछि औषधि खानुपर्ने स्थिति थियो”, उनले भनिन् । चिकित्सकले बिहान र बेलुकी एकएक ओटा चक्की औषधि खान सुझाव दिए पनि रिस उठेमा आफूले कहिलेकाहीँ एकै चोटि पाँच, छ तथा दश वटा पनि औषधि खाइदिने गरेको उनले सुनाइन् ।

आवेगका क्रममा कसलाई फोन गरेँ, कसलाई के भनेँ, के बोलेँ भन्ने नै पत्तो नपाउने उनको भनाइ छ । “शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला”, उनले भनिन् । “कहिलेकाहीँ कोही कसैसँग रिस उठ्यो भने औषधिको मात्रा बढी खाइदिने मेरो समस्या हो । एक्कासि औषधिको मात्रा बढाएपछि अत्यन्त रिस उठ्ने, कसलाई के भन्ने नै थाहा नहुने समस्या छ । कसलाई फोन गरें, कसलाई के गरेँ भन्ने नै थाहा पाउँदिन”, उनले भनिन् । केही वर्ष अघि स्वयं आफू पनि सञ्चारकर्ममा रहेको सन्दर्भ पेश गर्दै उनले अहिले सञ्चारमाध्यमले ‘हाइलाइट’ हुने नाममा कोहीकसैलाई दोषी करार गर्न लागिपरेको देख्दा आफू अचम्मित भएको समेत बताइन् ।

“सम्मानित पदको पछाडि रहने व्यक्तिलाई प्रयोग गरेर पदच्यूत गराउने र आफू त्यो स्थानमा स्थापित हुने कारणले पनि यस विषयलाई अनावश्यक उचालिएको हो”, उनले भनिन्, “बाबु समानको मान्छेसँग आफ्नो सम्बन्धलाई अनावश्यक रुपमा जोडेको देख्दा म छक्क छु ।”

आफूले सभामुखलाई सधैँ अभिभावकका रुपमा हेर्ने गरेको उल्लेख गर्दै उनले आफूहरुको पारिवारिक सम्बन्ध रहेको पनि बताइन् । “वि.सं. ०४७ देखि नै हामी महरा सरलाई चिन्छौँ । हाम्रो परिवारिक सम्बन्ध रहेको छ । सभामुख भएपछि मात्र हाम्रो चिनजान भएको होइन”, उनले भनिन् । आफूले महरालाई बुबा समान ठानेको जनाउँदै उनले बाबु र छोरीबीच अनैतिक सम्बन्ध हुनै नसक्ने बताइन् । “समाजले बाबु र छोरीबीच भिन्नता ठान्न सकेन”, अचम्म प्रकट गर्दै उनले भनिन्, “निर्दोष व्यक्तिको पछाडि अनावश्यक हल्ला फैलाइयो । यस विषयमा उहाँको कुनै दोष नै छैन ।
रासस

Logo