प्रदेश नं ३ : राष्ट्रिय गौरवको आयोजनामा २० अर्ब बाँडफाँट

प्रदेश नं ३ : राष्ट्रिय गौरवको आयोजनामा २० अर्ब बाँडफाँट


काठमाडौं,

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सञ्चारमाध्यमले मुलुकको स्वतन्त्रता, प्रजातन्त्रको सुदृढीकरण र जनताको आर्थिक समृद्धिका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री पौडेलले बडादशैँको उपलक्ष्यमा प्रदेश नं ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा मंगलबार आयोजित कार्यक्रममा सरकारको स्वस्थ आलोचना गर्नुभन्दा राजनैतिक पूर्वाग्रहबाट सञ्चारमाध्यमहरु अहिले उपयोग भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले जनहितका लागि निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना लगायत शिक्षा स्वास्थ्य, कृषि र नयाँ औद्योगिक क्षेत्रको विस्तार गरी जनतालाई रोजगारीतर्फ उन्मुख गराउने सरकारको मूल लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले स्रोतलाई सत्य, वस्तुगत र सामाजिक मर्यादालाई उपेक्षा नहुने गरी सम्प्रेषण गर्न तथा आफ्नो जिम्मेवारी बोध गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

यसैबीच जिल्ला समन्वय परिषद् मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तहलाई सबल र पारदर्शीका साथ आफ्नो अधिकारलाई सदुपयोग गर्न आवश्यक ऐनकानून तर्जुमा गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजित गरिसकेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम अनुसार प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजना र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन चालू आवको प्रथम चौमासिकभित्र करीब २० अर्बको अनुदानको बाँडफाँट गरिएको पनि स्पष्ट पार्नुभयो ।

जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमखु रघुनाथ खुलालले जिल्लाको आठ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भौतिक विकासको पूर्वाधारलाई आधुनिक प्रविधिबाट निर्माण कार्य सम्पन्न गर्न स्थानीय निकायका जनप्रतिनिधिहरु दैनिक क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

Logo