बर्दिया,
युनिटी इन्टरनेसनलले अवैध नेटवर्किङ व्यवसाय चलाएर लाखौं नेपालीलाई ठगी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै धन्दाबाट हजारौं नेपालीलाई ठगेको फेला परेको छ। भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अवैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चलाएको फेला परेको हो।
युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरे जस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो। पश्चिम नेपालमा भारतको सीमानजिकका जिल्लाका युवा दैनिक सयौंको संख्यामा यसका सदस्य बनिरहेका छन्। यसको सदस्य बन्न भारतीय रुपैयाँ ६० हजार (९६ हजार रुपैयाँ) शुल्क तिर्नुपर्छ। एकजना सदस्य बनेपछि उसले अरु दुईजनालाई सदस्य बनाउनुपर्ने नियम छ। यो नियमले एउटा नेपाली सदस्य बनेपछि अरुलाई सदस्य बनाउन ऊ आफैं लाग्नुपर्ने हुन्छ। यही कारण सदस्यहरुको संख्या दिनहुँ बढ्दै जान्छ।
पश्चिमी क्षेत्रका विभिन्न जिल्लामा यसको कारोबार फैलिए पनि अहिलेसम्म कति सदस्य बनेका छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन। यस्तै नेपालबाट औषधि बिक्री र सदस्य बनाएर कम्पनीले कति रकम लगेको छ भन्ने तथ्यांक पनि छैन।
कम्पनीले अहिलेसम्म बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चरपुरसम्म सदस्य बनाउने र औषधि बेच्ने कारोबार विस्तार गरेको छ। यो कम्पनीले खासै लेखपढ नगरेका, सोझा र गरिब परिवारका बिरामीलाई औषधि बेच्ने लक्ष्य बनाएर युवालाई सदस्य बनाई परिचालन गरेको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) राजेशनाथ बास्तोलाले भारतीय कम्पनी ओरियन्सले नेटवर्किङ व्यवसायमार्फत नक्कली औषधि बेचेर सर्वसाधारणलाई ठगी गरेको गुनासो आएको जानकारी दिए । उनका अनुसार ओरियन्सका सदस्यले भारत पुगेर शक्ति दिने खालको औषधि ल्याई बिक्री गरिरहेका छन् । बास्तोलाले भने, ‘भारतबाट औषधि आइरहेको खबर प्रहरीलाई आएको थियो। बरामद गरेर हेर्दा सामान्य खालका रहेछन् ।’ बरामद औषधि भन्सार कार्यालयमा बुझाएको उनले जानकारी दिए।
उनका अनुसार प्रहरी रेकर्डमा पपया फेस वास, पपया पिल अफ म्याक्स, हरबल ओरल केयर, ज्वाई टर्वाइन तेल, ऐलोभरा स्याम्पु, नेचुरल भिटामिन, स्ट्रेस सोप लगायत शक्ति दिने र पेट तथा टाउको दुख्दा प्रयोग गर्ने औषधि कम्पनीले दिएको देखिन्छ।
नागरिकबाट





























प्रतिक्रिया