बक्यौता उठाउन नागरिक उडड्यन प्राधिकरणको ताकेता, ६५ करोड बढी उठ्न बाँकी

बक्यौता उठाउन नागरिक उडड्यन प्राधिकरणको ताकेता, ६५ करोड बढी उठ्न बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मुलुकको हवाई उडान सञ्चालन तथा नियामक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणले विभिन्न वायुसेवा कम्पनीसँग लिनुपर्ने आफ्नो बाँकी बक्यौता रकम उठाउन ताकेता गरेको छ । प्राधिकरणले मंगलबार १९५ वटा वायुसेवा कम्पनीको नाम र अहिलेसम्म नबुझाएको बक्यौता रकम पत्रिकामा सार्वजनिक गरी आफ्नो बाँकी बक्यौता रकम उठाउन ताकेता गरेको हो ।

विभिन्न समयमा काठमाडौं उडान भरेर आफ्नो सेवा बन्द गरेका अन्तर्राष्ट्रिय तथा स्वदेशी वायुसेवा प्रदायक कम्पनीले प्राधिकरणको करिब २ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम रहेको भन्दै अझै बक्यौता नबुझाएर अटेरी गरिरहेका कम्पनीलाई थप दबाब दिलाउन प्राधिकरणले अहिले यस्तो ताकेता गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विभिन्न समयमा काठमाडौं उडान भरेर आफ्नो सेवा बन्द गरेकादेखि हाल उडान सञ्चालनमा रहेका कम्पनीसमेतले बक्यौता रकम नबुझाएपछि उनीहरूको नाम सार्वजनिक गरेर यस्तो ताकेता गरिएको बताए । उनले अब आफूहरू एक्सनमा जाने र कानुनी उपचार खोजिने बताए । ३५ दिनभित्र रकम बुझाउन जारी गरिएको जानकारी गराउँदै पोखरेलले भने, ‘अझै अटेर गरी नबुझाए प्राधिकरण, विमानस्थल सेवा शुल्क नियामवली २०६७ अनुसार कारबाही गरिनेछ ।’

प्रधिकरणका अनुसार अहिलेसम्म बक्यौता नबुझाउने विभिन्न वायुसेवा कम्पनीमध्ये सबैभन्दा धेरै मलेसियाको वायुसेवा कम्पनी एयर एसियाको १८ करोड ९४ लाख २१ हजार ४५७ रुपैयाँ रहेको छ । त्यसपछि जेट एयरवेजको ३ करोड ५५ लाख ७२ हजार, कस्मिक एयरको ३ करोड ४९ लाख, देशप्रेम इन्टरनेसनलको १ करोड ७५ लाख, गल्फ एयरको २ करोड २२ लाख, ग्रिन इन्टरनेसनल प्राइभेट लिमिटेडको १ करोड ४३ लाख लगायत १९५ कम्पनीसँग बक्यौता रकम उठाउन बाँकी रहेको छ । यसमध्ये सांग्रिला एयर, सिभानी एयर, स्काइलाइन एयरवेज, तुई एयरलाइन्स, युनाइटेड एयरवेज लगायतले पनि प्राधिकरणको बक्यौता तिरेका छैनन् ।

हाल उडान सेवा बन्द भइसकेका वायुसेवा कम्पनी, ट्राभल, टुर तथा विभिन्न कम्पनीबाट बक्यौता रकम उठाउन नसकेपछि प्राधिकरणले मंगलबार उनीहरूले बुझाउन बाँकी रहेको बक्यौता रकमसहित सबैको नाम सार्वजनिक गरेको प्राधिकरणले जनाएको छ ।

नेपाल नागरिक उड्डयन र त्यसअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालयबाट ६५ करोड ८ लाख ७६ हजार ६ सय ३१ रुपैयाँको बक्यौता उठाउन बाँकी रहेको छ ।
राजधानीबाट

Logo