मदिरा पिलाएर किशोरीमाथि सामूहिक बलात्कार, श्रीमतीबाटै खुल्यो पोल

मदिरा पिलाएर किशोरीमाथि सामूहिक बलात्कार, श्रीमतीबाटै खुल्यो पोल


मोरङ । मदिरा सेवन गराएर एक किशोरीमाथि सामूहिक बलात्कार गरिएको छ । मोरङ सुन्दरहरैंचा नगरपालिका-१ की १७ वर्षीया किशोरीमाथि शनिबार राति सामूहिक बलात्कार गरिएको हो ।

बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका-५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका-५ का २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाशकुमार थारू रहेका प्रहरीले जनाएको छ ।

शनिबार राति पक्राउ परेकामध्ये एक जनाले ती किशोरीलाई बोलाएर मदिरा सेवन गराई लठ्याएका थिए। किशोरी लठ्ठिएपछि उनले अरू तीन जना साथीलाई बोलाएर केराघारीमा पुर्‍याए र त्यहाँ पनि मदिरा सेवन गराएको मोरङ प्रहरी उपरीक्षक विश्व पोखरेलले जानकारी दिए ।

मदिरा सेवन गरेपछि किशोरी अचेतझैं भएपछि उनीहरूले सामूहिक रूपमा करणी गरेको खुल्नमा आएको अधिकारीले बताए । राति नै पीडकमध्येका एक युवककी श्रीमती श्रीमान् खोज्न जाने क्रममा केराघारीमा गतिविधि देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीले त्यसपछि युवाहरूको खोजी थालेको थियो। प्रहरी चारै जनालाई पक्राउ गरेर थप अनुसन्धान थालेको छ । किशोरीको कोशी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Logo