पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकतामा छोरा र छोरीबीच विभेद गर्न नपाइने बताएका छन् ।
समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले वैवाहिक अंगीकृत नागरिकता बुहारीलाई तत्काल दिने तर ज्वाइँलाई नदिने नागरिकतासम्बन्धी प्रावधान विभेदपूर्ण भएको भन्दै त्यसलाई हटाउनुपर्ने पार्टीको अडान दाेहाेराए । शुक्रबार काठमाडौंमा आयोजित ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको बताए ।
‘आफ्नै छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ,’ भट्टराईको प्रश्न थियो, ‘विदेशी ज्वाइँ आएर देश खाइदिन्छ भनेर किन डराउनु पर्यो ?’ संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता सम्बन्धी विधेयकमा विवाद छ । पूर्व प्रधानमन्त्री भट्टराईले पनि सरकारले प्रस्ताव गरेको विधेयक त्रुटिपूर्ण भएको उल्लेख गर्दै त्यसमा छोरा र छोरीबीच विभेद हुने गरी आएको प्रावधानलाई हटाउनुपर्ने माग गरे ।
भट्टराईले मुलुकलाई समृद्ध बनाउने हो भने जातीय आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुने गरी व्यवस्थापिका र प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था कायम गर्नुपर्ने पनि बताउनु भयो ।





























प्रतिक्रिया