घातक स्क्रब टाइफस : तीन वर्षमा २५ सय संक्रमित, १६ को मृत्यु

घातक स्क्रब टाइफस : तीन वर्षमा २५ सय संक्रमित, १६ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

डेंगुबाट आक्रान्त भएको बेला घातक रोगका रूपमा रहेको स्क्रवटाइफसका कारण पछिल्लो तीन वर्षयता झन्डै २ हजार ५ सय जना संक्रमित भएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तीन वर्षमा २ हजार ३ सय २३ जनालाई संक्रमण भएको छ ।

सन् २०१७ मा ६ सय ७०, सन् २०१८ मा १ हजार ९८ र सन् २०१९ मा ५ सय ५५ जनालाई संक्रमण भएको हो । यस्तै, महाशाखाका अनुसार तीन वर्षको अवधिमा १६ जनाको मृत्यु भएको छ । स्क्रवटाइफसका बिरामी ६३ जिल्लामा भेटिएका छन् । महाशाखाका निर्देशक डा. विवेककुमार लालले सरुवा रोग व्यवस्थापन अन्तर्गत अभिमुखीकरण तालिम लगायतमा केन्द्रमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

उनले भने, ‘परीक्षणका लागि बर्सेनि १० हजार कीट उपलब्ध हुन्छ । समयमा रोग पत्ता लगाउन सकिए यो पूर्ण रूपमा निको हुन्छ ।’

स्क्रवटाइफसले नेपालमा कुनै पनि बेला महामारीको रूप लिन सक्ने चिकित्सकहरूले बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार मुसामा पाइने एक प्रकारको किर्नाको टोकाइबाट स्क्रवटाइफस हुने गर्छ ।

सरुवा रोग विशेषज्ञ डा. पुनले भने, ‘यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सूक्ष्म कीरा (माइट) को टोकाइबाट फैलिन्छ । समयमै रोगको पहिचान गरिए पूर्ण रूपमा निको हुन्छ ।’ काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साउन यता २० बढी संक्रमित भेटिएको र ती मध्ये केही काठमाडौंकै रहेको अस्पतालले जनाएको छ ।
राजधानीबाट

Logo