११ बुँदे माग राखेर सीटीईभीटीका कर्मचारी आन्दोलनमा

११ बुँदे माग राखेर सीटीईभीटीका कर्मचारी आन्दोलनमा


भक्तपुर,

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् राष्ट्रिय कर्मचारी सङ्गठनका कर्मचारीहरु विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । सङ्गठनको संस्थागत हकहित र कर्मचारीहरुको वृत्ति विकासका सवालमा व्यवस्थापनसँग मौखिक र लिखित माग राख्दै सोमबारदेखि कर्मचारीले सीटीईभीटीमा धर्ना दिएका छन् ।

राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष तेजबहादुर खत्रीले व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि मागहरुको सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले परिषद् र व्यवस्थापनलाई बारम्बार ध्यानाकर्षण गर्दै अल्टिमेटम दिएर विभिन्न चरणमा गरिएको छलफलमा हाम्रो जायज मागलाई पूरा नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनुभयो ।

चाँडै नै हाम्रो माग पूरा नभए सीटीईभीटी अन्तर्गतका ४७ वटा र केन्द्रका ६०० कर्मचारीका साथ थप आन्दोलनलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो । सङ्गठनका महासचिव नारायण सुवेदीले व्यवस्थापनलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि हाम्रो जायज मागहरु पूरा गर्न आलटाल गरेकाले अझ आन्दोलनलाई सशक्त बनाएर अघि बढ्ने बताउनुभयो ।

हाम्रो मागको सम्बोधन गर्न ढिलाइ भएमा चरणबद्ध रुपमा आन्दोलनलाई प्रभावकारी बनाउने सङ्गठनका उपाध्यक्ष स्वस्थानी हमालको भनाइ छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले सबै मागहरु जायज भएको बताउँदै केही मागहरु पूरा भइसकेको र केही मागहरु पूरा हुन बाँकी भएको बताउनुभयो । उहाँले पूरा हुन बाँकी मागहरु व्यवस्थापन समितिको छलफल पश्चात मात्र सम्बोधन हुने बताउनुभयो ।
रासस

Logo