डेङ्गुलाई जितेर फर्केकाहरुको बयान

डेङ्गुलाई जितेर फर्केकाहरुको बयान

केन्द्रबिन्दु
0
Shares

डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् ।

पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन नहुने बताए । निको भएका बिरामीकोतर्फबाट तयार गरिएको पर्चा वाचन गर्दै उनले डेङ्गु ज्वरोको नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, स्थानीय सरकार, नागरिक समाज र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै गर्न सकिने बताए ।

पाँच दिनको अस्पतालको बसाईपछि घर फर्केकी अजिता अधिकारीले चिकित्सकको उपयुक्त परामर्शले आधा रोग हट्ने भन्दै आफूले आफूलाई बलियो बनाएमा रोग आफैँ निको भएर जाने बताइन् । यो रोगको छुट्टै औषधि नहुने भएकाले आफूले आफूलाई बलियो बनाउनुपर्ने भन्दै अधिकारीले भने, “यो ज्वरोले उठ्नै सक्दिन कि के हो भनेर चिन्ता नलिनुस्, मलाई केही हुँदैन भन्नुस् आफैँ ठीक हुन्छ ।”

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रबाट गरिएको यो प्रयास उदाहरणीय रहेकाले घरघरबाट रोग नियन्त्रणका लागि अभियान थाल्न आह्वान गरिन् । कुनै एक निकायको प्रयासले रोग नियन्त्रण सम्भव नभएकाले उनले सबैले हातेमालो गरेर रोग नियन्त्रण गर्नुपर्ने बताइन् ।

पुष्पाञ्जलि अस्पतालका प्रबन्ध निर्देशक वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले डेङ्गु केहो ? यसबाट कसरी बच्न सकिन्छ र आम नागरिकले के गर्नुपर्छ भन्ने विषयमा जानकारी गराएका थिए । सो अस्पतालमा मात्र साउन १६ गतेयता ४०५ ज्वरोका बिरामी उपचार गरिएकामा तीमध्ये २२३ मा डेङ्गु देखिएको र उनीहरुमध्ये १०५ जनालाई अस्पतालमा नै भर्ना गरेर उपचार गरेको अधिकारीले बताए ।

हालसम्म जिल्लामा एक हजार ७०० लाई डेङ्गु सङ्क्रमण भएको छ । यो रोगको सङ्क्रमण बढ्दै गएपछि निको भएका बिरामीलाई भेला गरेर सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

Logo