सहायकको भरमा टिकेको एउटा अस्पताल

सहायकको भरमा टिकेको एउटा अस्पताल

केन्द्रबिन्दु
0
Shares

डडेल्धुराको परशुराम नगरपालिकामा रहेको जोगबुडा अस्पताल चिकित्सकविहीन बनेको छ । उक्त अस्पताल हाल स्वास्थ्य सहायकका भरमा चलिरहेको छ ।

भित्री मधेश जोगबुडाको परशुराम नगरपालीका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रुपमा रहेको जोगबुडा अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको हो । उक्त अस्पतालका एकमात्र चिकित्सक करुणा बज्राचार्य समायोजन भएर अन्यन्त्र गएपछि १५ श्ययाको अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको हो ।

एक जना नवौँ तह र दुई जना मेडिकल अधिकृतको दरबन्दी रहेको जोगबुढा अस्पताल तीन सातादेखि ‘हेल्थ असिष्टेण्ट’ को भरमा सञ्चालन भइरहेको छ । देशै भर डेङ्गु, स्क्रबटाइफस र भाइरल ज्वरोका बिरामीको चाप बढेका समयमा जोगबुडा अस्पताल चिकित्सकविहीन हुँदा बिरामीलाई उपचारका लागि समस्या भइरहेको छ ।

समान्य उपचारका लागि पनि जिल्ला सदरमुकाम वा तराईका अस्पताल धाउनुपर्ने बाध्यता बनेको स्थानीय कैलाश पाण्डेयले बताए । आजभोलि दैनिकरुपमा १०० देखि १५० सम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका हेल्थ असिष्टेण्ट एवं निमित्त प्रमुख तारादत्त बोहराले बताए ।

समायोजनमा सरुवा भएर गएपछि अहिले अस्पताल चिकित्सकविहीन बन्दा उपचार गर्न समस्या भइरहेको अस्पतालका निमित्त प्रमुख बोहराको भनाइ छ । समायोजनपछि सरुवा भएर चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी गएको तर त्यसको सट्टामा कोही आइनसकेकोले उपचारमा समस्या भइरहेको परशुराम नगरपालिका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष भीमबहादुर साउँदले बताए ।

बारम्बार चिकित्सकको माग गरिए पनि अहिलेसम्म अस्पतालमा चिकित्सक तथा स्वस्थ्यकर्मी नआएको उनले बताए । अस्पतालमा चिकित्सक नहुँदा यस क्षेत्रका बिरामी उपचारका लागि धनगढी, महेन्द्रनगरलगायत भारत जान बाध्य भएका छन् । भाइरल ज्वरोका बिरामीको चाप बढेको भए पनि जोगबुढा अस्पतालमा चिकित्सक नहुँदा अस्पतालका श्यया खाली रहेका छन् ।

Logo