नेपाल ओलम्पिक कमिटीको निर्वाचन ललितपुरको सातदोबाटोस्थित ओलम्पिक भवनमा चलिरहेको छ ।
साधारणसभाले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक सहमहासचिव, एक कोषाध्यक्ष, तीन सचिव र सात सदस्यसहित १९ सदस्यीय कमिटि निर्वाचित गर्नेछ।
कमिटीको अध्यक्षमा सांसद जीवनराम श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ तथा पूर्वमन्त्री सहाना प्रधानका छोरा उमेशलाल प्रधान अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन्।
पाँच उपाध्यक्षका लागि ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राज वैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दिएका छन्। यस्तै‚ महासचिवका लागि पुरेन्द्रविक्रम लाखे र नीलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन्।
उपमहासचिवमा पीताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डन निर्विरोध भएका छन्। उपमहासचिव र कोषाध्यक्षमा एक एक जनाको मात्र उम्मेदवारी परेको हो। ३ सचिवका लागि केशवकुमार विष्ट, रामजी श्रेष्ठ, दीपकहर्ष वज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् ।
त्यस्तै‚ सात सदस्यका लागि आठजनाले उम्मेदवारी दिएका छन्। सदस्यका लागि रमेशप्रसाद सिवाकोटी, राम अवाले, प्रकाशशमशेर राणा, गोपाल सुन्दरलाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्गबहादुर केसी र मनोरंजन रमण शर्माले उम्मेदवारी दिएका छन् ।
निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिले गरेका छन् । नेपाल ओलम्पिक कमिटीको मतदाता २७ जना छन् । साधारण सभाले ४ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ।





























प्रतिक्रिया