काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चपली हाइट-३’ निर्माण हुने भएको छ । मंगलबार ‘चपली हाइट ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मलाई ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गर्नेछन् । चैतमा प्रदर्शनमा आउने यो फिल्ममा पहिलो पार्टमा प्रमुख भूमिका निभाएका अभिनेता आमिर गौतम दोहोरिएका छन् । अन्य कलाकार भने नयाँ छन् ।
अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा रहनेछिन् । अर्जुन कुमारले निर्माण गर्ने यो फिल्ममा उनको जोडी नव-अभिनेता महेश त्रिपाठी छन् । फिल्म ‘रणवीर’ बाट अभिनय गर्दै आएकी अभिनेत्री सुपुष्पा भट्ट र नव(-भिनेता प्रतिक श्रेष्ठको पनि ‘चपली हाइट ३’ मा अभिनय छ ।
अभिनेत्री स्वस्तिमाले कथावस्तु राम्रो लागेका कारण फिल्मको लागि राजी भएको बताएकी छन् । ‘मलाई आफ्नो भूमिका निकै शक्तिशाली लाग्यो । टिम पनि राम्रो पाएँ । नाम नै ब्रान्ड भइसकेको सिरिजमा आबद्ध हुन पाउँदा निकै खुसी महशुस भएको छ ।’ स्वस्तिमाले भनिन् । चैतमा प्रदर्शनमा ल्याउने लक्ष्यसहित ‘चपली हाइट ३’ को घोषणा गरिएको हो ।
यसका निर्माता अर्जुन कुमारले आफूले निर्माण गर्ने तीन नयाँ फिल्मको पनि घोषणा गरे । उनले यो फिल्मपछि दुई वर्ष अगाडि नै घोषणा गरिएको फिल्म ‘फाटेको जुत्ता २’ निर्माण गर्ने भएका छन् । त्यस्तै ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म पनि बनाउने घोषणा गरेका हुन् ।





























प्रतिक्रिया