सुर्खेत,
दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ । छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो ।
नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए । यस्तै दर्जनौं गाईगोरु घाइते छन् । दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगन्ज उपमहानगरले ति गाईगोरु पठाएको थियो । दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेका थिए ।
तर घटनाको एक साता पुग्नै लाग्दा जिल्ला समन्वय समिति दैलेखले उपमहानगरसँग गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको हो । नेपालगन्ज उपमहानगरले गठन गरेको छानबिन टोली मंगलबार दैलेख पुगेको थियो । टोली फिर्ता भएसँगै जिससले उपमहानगरसँग गाई मगाएको पत्र सार्वजनिक भएको हो । जिससको नाममा रातारात पत्र बनाएर गाई मगाइएको देखाएपछि दैलेखका स्थानीय तह पनि आश्चर्यमा परेका छन् ।
घटनाको एक सातासम्म केही नबोलेको जिससले एकाएक गाई मगाइएको पत्र सार्वजनिक गरेपछि घटनामा मिलेमतो भएको स्थानीयको आशंका छ । यतिसम्म की गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएपछि जिससका सदस्य र कर्मचारी नै आश्चर्यमा छन् । जिसस दैलेखले भदौ ८ गते उपमहानगरलाई गाई माग्दै पत्र पठाएको देखिन्छ ।
पत्रमा जिससका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहको हस्ताक्षर छ । जबकी अरुबेलामा यस्ता पत्रमा जिल्ला समन्वय अधिकारीले हस्ताक्षर गरी पठाउँथे। तर यसमा प्रमुख र उपप्रमुख दुबैले हस्ताक्षर गरेकाले पनि यो पत्र रातारात तयार पारिएको देखिन्छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया