ह्याकरको निशानामा परेपछि अधिकांश बैंकले आफ्नो एटिएमहरु बन्द गरेका छन्।
शनिबार राति प्रहरीले नबिल बैंकको एटीएमबाट ठूलो रकम निकालिरहेको अवस्थामा ५ जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । घटनापछि इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) मा आवद्ध १५ भन्दा बढी बैंकले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गरेको हो।
ति बैंकहरुले नेप्सले बनाएको सफ्टवेयर प्रयोग गर्दै आएका थिए। नेप्समा सनराइज, प्रभु माछापुच्छ्रे, सिद्धार्थ, सिटिजन, एनआईसी एसिया, बैंक अफ काठमाडौँ, प्राइम, नेपाल बंगलादेश, ग्लोबल आईएमई र जनता बैंक आवद्द छन् । त्यस्तै देव विकास बैंक, ज्योति, ओम, शाइन रेसुंगा, शंग्रिला, एक्सेल र लुम्बिनी विकास बैंक पनि यसमा आवद्ध छन् ।
ह्याकरले यो सफ्टवेयरमै ह्याक गरेपछि बैंकहरुले सुरक्षाका लागि सेवा बन्द गरेको हो। तर, बैंकहरुले यसबारे आधिकारिक जानकारी भने दिएको छैन । सेवाग्राहीहरुले भने आफ्नो एकाउन्टबाट पैसा नआएको भन्दै सामाजिक संजालहरुमा गुनासो गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकले केही बैंकको एटिएम सिस्टममा खराबी आएको सूचना प्राप्त भएपछि वास्तविकता बुझ्ने काम भैरहेको जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले राष्ट्र बैंकले एटिएम बन्द गर्न निर्देशन नदिएको बताउदै समस्या आएकाले बैंकहरुले आफै बन्द गरेको हुन् सक्ने बताए।
काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले गएरातिको प्रहरीको अप्रेशनले ठूलो रकम जोगिएको जानकारी दिए ।





























प्रतिक्रिया