काठमाडौं । अब तीनकुने-गौशाला सडकमा सेकुवा पोल्न नपाइने भएको छ । त्यो क्षेत्रको सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गर्दै सेकुवा पोल्न प्रतिबन्ध लगाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने बताएका हुन् । यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने आफ्नो कार्ययोजनामा उल्लेख गरेका छन् । यो नेपालको प्रवेशद्वारा भएकाले यसलाई व्यवस्थित गरिने उनले बताए ।
त्यस्तै पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने मन्त्री भट्टराईको आगामी कार्ययोजना छ । जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने पनि उनको कार्ययोजनामा छ ।
यस्तै पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने समेत उनको योजना छ ।
७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुटः
७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय भनेर सम्बोधन गरिन्छ । अब उनीहरूले मात्र विमानस्थलभित्र सवारी साधनसहित प्रवेश पाउनेछन् ।





























प्रतिक्रिया