काठमाडौं । नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको छ । उपचारको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेको बेला प्रविधिको उपयोग गर्दै पहिलो पटक टेलिकन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको हो ।

सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठकको अध्यक्ष सिंगापुरबाट प्रधानमन्त्री ओलीले नै गरेका छन् । भिडियो कन्फेरेन्समा सिंहदरबारबाट सबै मन्त्री सहभागी थिए । उक्त मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

बैठकबारेको फोटोहरू प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु पौडेलले सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फरेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो । नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको हो ।

बैठकपछि प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मन्त्रिपरिषद् बैठकमा सहभागी भएका मन्त्रीहरू तथा सचिवालयका सदस्यहरूलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद ! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद।’
सबै तस्बिरः प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु पौडेल ।





























प्रतिक्रिया