सिन्धुपाल्चोक,
आठ महिनादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन चिनियाँ कम्पनी सिनो हाइड्रो छनोट भइरहँदा पूर्वठेकेदार इटालीयन सिएमसीबाट ठूलो रकम भुक्तानी नपाएर प्रताडित आपूर्तिकर्ता, स्थानीय विक्रेता र मजदुरले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्थानीय प्रशासनमार्फत बिहीबार सरकारलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पूर्वठेकेदार सिएमसीबाट पाउनुपर्ने रकम साताभित्र भूक्तानी नदिए नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने चेतावनी दिएका हुन् । आयोजनाको सुरुङ निर्माण सामग्री आपूर्ति, मजदुर पारिश्रमिक र स्थानीय विक्रेताको उधारोसमेत सिएमसीसँग एक अर्व ६५ करोड ७४ लाख रुपैयाँ भूक्तानी पाउनुपर्ने दाबी उनीहरुले गरे ।
‘साताभित्र भूक्तानी नपाए आयोजना निर्माणस्थलमा तालाबन्दी गर्छौँ । सडकमै लम्पसार परेर सुत्छौँ’, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङमार्फत ज्ञापनपत्र बुझाउँदै पीडितहरुले एकै स्वरमा भने, ‘नो पे, नो वर्क अवधारणा अनुसार कडा कदम चाल्छौँ ।’ सुरुङ निर्माणमा संलग्न आठ सय मजदुर, उनीहरुका परिवारका सदस्य, आपूर्तिकर्ता, स्थानीय विक्रेता र प्रभावित क्षेत्रका बासिन्दा एकसाथ सडक उत्रेर आन्दोलन गर्ने चेतावनी पीडितहरुद्धारा गठित मेलम्ची खानेपानी आयोजना संघर्ष समितिले दिएको छ ।
‘दुई दशक लामो मेलम्ची सपनामा अवरोध पुर्याउने र अझै पछाडि धकेल्ने रहर हामीमा छैन’, संघर्ष समिति सचिवालय सदस्य इन्जिनियर श्रीराम न्यौपानेले भने, ‘भुक्तानी नपाए आन्दोलनको विकल्प छैन ।’ ठूलो रकम भुक्तानी नपाउँदा बैंक ऋणमा काम गरेका आपूर्तिकर्ताहरुको घर, जग्गा लिलामी हुन लागेको गुनासो उनले गरे। सुरुमा उपठेकेदारको रुपमा काम गरेका उनी पछिल्लो समय सिएमसीको निर्माण सामग्री आपूर्तिकर्ता थिए ।
साँढे २६ किलोमिटर सुरुङ र हेडवक्र्स (मुहान) निर्माणको ठेक्का पाएको सिएमसी ९० प्रतिशतभन्दा बढी काम सकिएपछि गत वर्षको पुस २ गते आयोजनास्थल छोडेर भागेको थियो । उसले एकतर्फी ठेक्का तोडेपछि सरकारले समेत ठेक्का तोडिएको घोषणा गरेको थियो । सिएमसीले आयोजनास्थल छोडेर भागेकै दिन राजधानीमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायी र आपूर्तिकर्ताले भुक्तानी दाबी गरेका थिए ।
नागरिकबाट





























प्रतिक्रिया