काठमाडौँ,
समायोजन सम्पन्न भएको लामो समयसम्म पनि कर्मचारी व्यवस्थापनको काम सम्पन्न हुन सकेको छैन । स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारी सोही तहमा गएपनि हाजिर नगरि फिर्ता पठाएसँगै समायोजनमा नै समस्या देखिएको हो । सरकारले समायोजन सम्पन्न गरेर कार्यक्षेत्रमा जान निर्देशन दिएको लामो समय भईसकेको छ । तर समयोजनपछि कार्यक्षेत्रमा पुगेका सयौँ कर्मचारी फिर्ता भएका छन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ती तहबाट फिर्ता भएका १ सय २५ कर्मचारीहरु मन्त्रालयमा हाजिरी हुने गरेका छन् । मन्त्रालयका सहसचिव रुद्रसिँह तामाङका अनुसार ती कर्मचारीहरुलाई विभागीय मन्त्रालयमा व्यवस्थापन गरिएको छ । ‘हालसम्म १ सय २० जनालाई सम्बन्धित मन्त्रालयमा व्यवस्थापन गरेका छौँ । यो तत्कालिन समाधान हो । उहाँहरुलाई समायोजन भएकै स्थानमा नै पठाउने प्रयासमा छौँ ।’ उनले भने । उनीहरुलाई समायोजन भएको तहमा नै पठाउनका लागि सम्बन्धित तहहरुसँग छलफल जारी रहेको तामाङको भनाई छ ।
मन्त्रालयले तत्कालिन व्यवस्थापनको रुपमा यस्तो योजना ल्याएको भएतापनि कर्मचारी फिर्ता हुने क्रम भने अझै रोकिएको छैन । मन्त्रालयको तथ्यांक अनुसार केहि दिन अघिसम्म १ सय २० को संख्या थियो । तर बुधबार यो संख्या बढेर १ सय २५ पुगेको छ । यसरी फिर्ता पठाउनेमा अधिकांश महानगरपालिका , नगरपालिका र केही गाँउपालिका रहेको बताईएको छ ।
त्यस्तै प्रदेश नम्वर १ ले समेत कर्मचारी फिर्ता पठाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सो प्रदेशले महिला विकास कार्यकर्ताको पदमा समायोजन भई कार्यक्षेत्रमा गएका कर्मचारीलाई फिर्ता गरेको हो । कर्मचारी फिर्ता गर्नेमा काठमाडौं महानगरपालिका अग्रपंक्तिमा छ । मन्त्रालयले काठमाडौं महानगरपालिकाले ३७ जना कर्मचारी फिर्ता पठाएको जनाएको छ ।
यता काठमाडौं उपत्यकाका ३ जिल्लाका १८ नगरपालिकाहरुको साझा संगठन नगरपालिका फोरमले नगरपालिकाहरुमा माग गरिएको जनशक्ति नपठाई आवश्यकता भन्दा बढि असम्बन्धित कर्मचारी पठाएकोले फिर्ता पठाइएको बताँउदै आएको छ । फोरमले सरकारले उपत्यकाका नगरपालिकालाई असम्बन्धित कर्मचारी पठाएर ‘डम्पिङ साईट’ बनाएको भन्दैे सार्वजनिक वक्तव्य निकालेर विरोध जनाएका थिए ।
राजधानीबाट





























प्रतिक्रिया