काठमाडौं,
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण शुरू भएको छ । गत असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण शुरू गरेको हो ।
मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ । त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको ’प्यासेज’ पुनर्निर्माण थालिएको हो । त्यसका लागि रानीपोखरीको उत्तरी ढोकातिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिरनजिकै चुना भिजाइएको छ । चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ ।
सीए÷तुलसी कन्ट्रक्सन जेभीका साइट इञ्जिनियर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकहरुले काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार क्षमापूजा गरेपछि मुख्य मन्दिरको पुनर्निर्माण गरिनेछ । श्रेष्ठका अनुसार कामलाई गति दिन मूल मन्दिर र पुलको काम समानान्तर रूपमा अघि बढाइनेछ ।
रानीपोखरीको पुनर्निर्माणको अनुगमन कार्यको नेतृत्व गरिरहनु भएका पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको काम सन्तोषजनक ढंगले अघि बढेको बताउनुभयो ।
निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्नेछ भने उपभोक्ता समितिले पोखरीको पिंध र वरिपरिको पर्खाल पुनर्निर्माणको जिम्मेवारी पाएको छ । उपभोक्ता समितिले पोखरीको पश्चिमपट्टिको पर्खाल लगाइसकेको छ भने दक्षिण र उत्तरको एक तिहाई भागमा पर्खाल लगाउने क्रम जारी छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया