नवलपरासीको अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने

नवलपरासीको अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने भएको छ । बुधबार बिहान पुलमा ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताउनुभयो ।

पुलमा थप क्षति नपुगे काम शुरु गरेको १५ दिन सम्ममा मर्मत सम्पन्न गर्न सकिने इञ्जिनीयर सुवेदीले बताउनुभयो । पुलबाट गाडी गुडाउदा थप क्षति पुगेमा मर्मतका लागिसमेत धेरै समय लाग्ने उहाँले बताउनुभयो । पुलमा अहिले ठूला सवारी चलाउन रोक लगाइएको छ । साना गाडीसमेत भारयुक्त गाडी लगेमा पुलमा थप क्षति पुग्न सक्ने र यसले मर्मतमा समेत समय धेरै लाग्न सक्ने इञ्जिनीयर सुवेदीले बताउनुभयो ।

सडक विभागका कर्मचारीको टोलीले अहिले डाइभर्सनलाई मजबुत बनाउन लागि परेका छन् । सामान्य रुपमा एकतर्फी रुपमा डाइभर्सनबाट सवारी आवतजावत गर्न सक्ने बुधबार नै बनाए पनि विहिबार दुईतर्फी रुपमा डाइभर्सनबाट सवारी चल्न सक्ने बनाइएको छ । इञ्जिनीयर सुवेदीका अनुसार डाइभर्सनका दुवै छेउमा ढुङ्गाका जाली भर्ने काम समेत गरिने छ । आज र भोलि डाइभर्सन मजबुत बनाउन लाग्ने हुँदा शनिबारबाट पुल मर्मतको काम शुरु गरिने उहाँले बताउनुभयो ।

पुल मर्मतका लागि आवश्यक सामग्रीको अभाव नभएकाले समयमै मर्मत हुने इञ्जिनीयर सुवेदीले बताउनुभयो । अघिल्ला वर्षमा नवलपुरका लोकाहा, बौलाहा र जयश्री खोलाका पुलमा क्षति पुग्दा लामो समयसम्म मर्मत हुन नसकी डाइभर्सनबाट नै यातायात सञ्चालन गरिएको थियो ।

अरुणखोला पुल भाँचिएपछि अहिले सो क्षेत्रमा डाइभर्सनबाट यात्रा गर्न समेत घण्टौं लाग्ने गरेको छ । डाइभर्सनको दुवैतर्फ झण्डै पाँच÷पाँच किलोमिटर सवारीको लाइन लागेको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताउनुभयो । आज डाइभर्सनलाई दुईतर्फि बनाउन लाग्दा यातायात धेरै रोकिएको उहाँले बताउनुभयो । सवारीको अव्यवस्थित लाइन लागेकाले अहिले अरुणखोलाको भिड छिचोल्न सवारीलाई झण्डै तीन चार घण्टा लाग्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
रासस

Logo