वीरेन्द्र परिवारको २१ हजार ५६३ रोपनी जग्गा ट्रस्टमा

वीरेन्द्र परिवारको २१ हजार ५६३ रोपनी जग्गा ट्रस्टमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम जग्गा ट्रस्टको नाममा आएको हो ।

यसैगरी भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजनका नाममा रहेका जग्गाको स्वामित्व ट्रस्टको नाममा ल्याइएको छ । ट्रस्टमा ल्याइएको जग्गा व्यवस्थापन हुन भने सकेको छैन ।

ट्रस्टमा आएको जग्गामध्ये कोही लिजमा दिइएको छ कोही भाडामा छ, कोही जग्गा कब्जा गरिएको छ । कतिपय स्थानमा सरकारी कार्यालय बसेका छन् कति स्थानका जग्गा बेवारिसे छ ।

काठमाडौंको गोकर्णमा ट्रस्टका नाममा ३९७१ रोपनी ३ पैसा ३ दाम जग्गा छ । यसमध्ये २९७१ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा लिजमा दिइएको छ । वीरेन्द्र जीवित रहँदै एलएम सुवीर ब्रदर्स (नेपाल) प्रालि काठमाडौं र यती होल्डिङ्स प्रालिलाई लिजमा दिइएको थियो । २०६७ वैशाख ५ गते ट्रस्टले लिजको पुनः सम्झौता गरेको छ । नयाँ सम्झौता अनुसार २०२५ मंसिर १५ गतेसम्मका लागि लिजमा दिइएको छ ।

१८ औं देखि २० औं वर्षसम्म १ लाख ६० हजार, २१ देखि २५ औं वर्षसम्म २ लाख ४० हजार र २६ औंदेखि ३० औं वर्षसम्म २ लाख ६० हजार वार्षिक भाडा तय गरिएको छ । गोकर्णको केही जग्गा भूमाफियाले कब्जा गरेका छन् भने केही स्थानीयले मिचेका छन् ।

दरबारमार्गस्थित १ रोपनी १४ आना १ पैसा जग्गा ट्रस्टले ऐनविपरीत थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिएको छ । ट्रस्टको जग्गा शिक्षा र स्वास्थ्यको प्रयोजनका लागि मात्रै उपभोग गर्ने ट्रस्ट ऐन २०६४ मा व्यवस्था छ । तर त्यहाँ सेर्कुले व्यापारिक भवन बनाइरहेको छ ।

चार लाख ४३ हजार कित्ता सेयर

चल सम्पत्तिको हकमा नेपाल ट्रस्ट कोषमा ५० करोड ५० लाख रुपैयाँ छ । नबिल बैंकमा चार लाख ३५ हजार चार सय १५ कित्ता सेयर छ । होटल डेला अन्नपूर्णाको ३० हजार ७२० कित्ता, नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७५० गरी कुल चार लाख ४२ हजार ८ सय ८५ कित्ता सेयर ट्रस्टको स्वामित्वमा छ ।

प्रभु बैंक लिमिटेडमा ४८ हजार चार सय ६६ पाउन्डस्टर्लिङ छ । त्यस्तै १ लाख ३८ हजार ६२५ अमेरिकी डलर प्रभु बैंकमै छ । पूर्वसचिव भीमप्रसाद उपाध्यायले सदुपयोग गर्न नसक्दा ट्रस्टको जग्गा लथालिंग रहेको बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo