काठमाडौं,
नेपालका महत्त्वपूर्ण दस्तावेज कहाँ छन् ? सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धि सम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष निकालेको छ ।
सुगौली सन्धि र नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका विषयमा सरकारले अध्ययन भइरहेको जनाएको छ । राष्ट्रिय महत्वको दस्तावेजका विषयमा समितिले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग जानकारी दिएको थियो । समितिमा मन्त्रीले पनि महत्वपूर्ण दस्तावेजबारे स्पष्ट जबाफ दिन सकेनन् । परराष्ट्रमन्त्री ज्ञवालीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा त्यहाँबाट सबै दस्ताबेज आउन नसकेको शंका गरे ।
मन्त्री ज्ञवालीले यी सन्धि सम्झौताका विषयमा सरकारले अध्ययन गरिरहेको बताए । ‘सुगौली सन्धि, १९५० र १९६५ को सम्झौताका हामीसँग भएको प्रति सक्कली हैन भन्ने प्रश्न आइरहेका छन् । यस विषयमा पहिला हामीसँग भएका दस्तावेज अध्ययन गर्नुपर्छ’, मन्त्री ज्ञवालीले भने, ‘हामीले बेलायतस्थित नेपाली दूतावासबाट त्यहाँको लाइब्रेरीमा भएको नेपालसँग जोडिएका महत्वपूर्ण सामग्री खोज्न भनेका छौं र कोलकाताको पुस्तकालयमा पनि त्यस्ता दस्तावेज छन् भने खोज्न भनेका छौं ।’
नेपाल पक्ष राष्ट्र भएर भएका सन्धि सम्झौताका सक्कली प्रति कानुन मन्त्रालयसँग भएको मन्त्री ज्ञवालीको दाबी छ । ‘नेपाल पक्ष राष्ट्र भएका सन्धि–अभिसन्धिको आधिकारिक प्रतिलिपि कानुनले व्यवस्था गरे अनुसार कानुन मन्त्रालयसँग छ’, उनले भने, ‘यसको प्रतिलिपि परराष्ट्र मन्त्रालयसँग छ । पछिल्लो दस्तावेजहरूको प्रतिलिपि हामीसँग छ ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया