भारतीयलाई नागरिकता दिलाउनेमाथि अनुसन्धान सुरु

भारतीयलाई नागरिकता दिलाउनेमाथि अनुसन्धान सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

गृह मन्त्रालयले भारतीय नागरिकलाई नेपाली भएको सिफारिस गरी नागरिकता दिलाउने कर्मचारीबारे अनुसन्धान सुरु गरेको छ । धनुषा र महोत्तरीका विभिन्न स्थानबाट आठ भारतीय नागरिकले झुटो विवरण पेस गरी नागरिकता लिएको सम्बन्धमा मन्त्रालयले ती जिल्लाका कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले झुटो विवरण दिएर नागरिकता लिएका भनिएका आठ व्यक्तिको प्रमाणपत्र रद्द गरिएको बताएसँगै तत्कालीन कर्मचारीमाथि अनुसन्धान हुने भएको हो । मन्त्रिपरिषद्को बैठकले अशोक शाह, बिन्दे महतो, दानादेवी महतो, सोसिल महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द गरेको हो ।

गृह मन्त्रालयका अनुसार धनुषाबाट बिन्दे र राजेन्द्रले २०४४ मा, राजेश्वरले २०३५ मा, दानादेवीले २०३५ मा, रामकिशोरले २०५३ मा, सोसिलले २०५८ मा र राजकुमारले २०६१ सालमा नागरिकता लिएका थिए । उनीहरू भारतीय भएको हल्ला चलेपछि त्यहाँका जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी नागरिकता रद्द गर्न गृह मन्त्रालयमा पठाएको र सो निर्णयलाई गृह मन्त्रालयले मन्त्रिपरिषदमा पठाएपछि रद्द भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले उनीहरूको नागरिकता रद्द भएको र उनीहरूले कसरी नागरिकता लिए भन्नेबारे अनुसन्धान भइरहेको बताए।
नागरिकबाट

Logo