विप्लवप्रति सरकार कठोर बन्ने संकेत

विप्लवप्रति सरकार कठोर बन्ने संकेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ ।

सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ । यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेता कार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रयोग हुने संकेत दिएको हो । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको पार्टीले बिहीबार देशका विभिन्न स्थानमा रहेका एनसेलका २५ वटा टावरमा विस्फोट र आक्रमण गरेको थियो ।

गृहमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरुले नियमित ब्रिफ्रिङका क्रममा विप्लव समूहका विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने धारणा राखेका छन् । उनीहरुले विप्लव समूहलाई नियन्त्रण गर्न नेपाल प्रहरीको साथमा औपचारिक रुपमै सशस्त्र प्रहरी खटाउन गृहमन्त्री रामबहादुर थापालाई सुझाएका छन् ।

शुक्रबार भएको चार घन्टा लामो ब्रिफिङमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले गृहमन्त्री थापालाई देशभरको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै विप्लव समूहले देशभर आफ्ना गतिविधि बढाउन खोजेको, चन्दा आतंक झन् बढाएको, सरकारी कार्यालय र सम्पत्तिमा क्षति पु¥याउन थालेको बताएका थिए । विप्लव समूहका गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि खटाउनु पर्ने उनीहरूले बताए ।

१५ सय पक्राउ

प्रहरीले विप्लव समूहका १९ सय जति नेता कार्यकर्ता पक्राउ गरेको छ । फागुन अघि एक हजार ३०५ जना पक्राउ परेकोमा त्यस यता ६०९ जना पक्राउ परेका छन् । सरकारले फागुन २८ मा विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध कायमै छ ।

विप्लव समूहका नेताकार्यकर्ताविरुद्ध एक हजार ३१३ मुद्दा दर्ता भएका छन् । प्रतिबन्धपूर्व एक हजार १३३ मुद्दा र प्रतिबन्धपछि ६४८ मुद्दा दायर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रधान कार्यालयका अनुसार पक्राउमध्ये ५१३ जना छुटेका छन्, ११० जना कारागार चलान भएका छन् । ६९ जनाविरुद्ध अनुसन्धान भइरहेको छ ।

५० स्थानमा विस्फोट, सात जनाको मृत्यु

विप्लव समूहले मुलुकका विभिन्न स्थानमा विभिन्न समयमा गराएका बम विष्फोटमा परी सात जनाको ज्यान गएको छ । उसले देशका ५० स्थानमा विष्फोट गराएको छ । विप्लव समूहले १२४ स्थानमा राखेका बम सुरक्षाकर्मीले निष्कृय पारेका छन् । प्रहरी कारबाहीमा विप्लव समूहका ६ जनाको मृत्यु भएको छ ।
नागरिकबाट

Logo