जुरे पहिरोको ५ वर्ष पूरा : पीडितको अवस्था अझै उस्तै

जुरे पहिरोको ५ वर्ष पूरा : पीडितको अवस्था अझै उस्तै

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,

सिन्धुपाल्चोकको जुरेमा १ सय ४५ जनाको एकै चिहान भएको शुक्रबार ५ वर्ष पुरा भएको छ । यो ५ वर्षमा सुनकोशी नदीमा धेरै पानी बग्यो, देशमा धेरै परिवर्तन भए तर जुरे पहिरो पीडितहरुको अवस्था अझै उस्तै छ । ०७१ साउन १७ गतेको राति जुरेमा पहाडै खस्यो । राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ ले ज्यान गुमाए । कति घाइते र अंगभंग भए ।

 

सयौंको घरवास खेदियो, पहाड नै खसेपछि १४ घण्टासम्म सुनकोसी थुनियो । १४ घण्टा सुनकोसी बगेन, जुरेमा आँसु मात्र बगिरह्यो । १ सय ४५ जनाको जीवनलीला समाप्त पार्नेगरि जुरेमा पहाड खसेको ५ वर्ष पूरा भएको छ । पहिरोले उजाड बनाएका भीरपाखामा रुखबिरुवा पलाइसकेका छन् । खण्डहर बनेको त्यो ठाउँ क्रमश हरियाली बन्दैछ तर पहिरोका पीडित र विस्थापितका मुहारमा खुसी फर्किएको छैन अझै पनि । पहिरोले विस्थापित बनाएकाहरु अझैपनि विस्थापित जीवन बिताइरहेका छन् । उनीहरु पहिलेकै जग्गाजमिनमा फर्कन सकिरहेका छैनन् ।

जुरे पहिरो पीडितहरुका लागि भन्दै जनस्तरबाट २ करोड २४ लाख रुपियाँ संकलन भयो, जिल्ला दैवि प्रकोप उद्धार समितिको खातामा अहिले पनि त्यो रकम छ तर पीडितहरुले पाउन सकेका छैनन् । पीडितहरुको नाममा संकलन भएको रकम आफुहरुले पाउनु पर्ने माग राख्दै पीडितहरुले धेरै पटक आन्दोलन गरेपनि संकलीत रकम पीडितहरुले पाउँन सकेका छैनन् ।

छ वर्ष अघि पहिरोमा परिवारका पाँच जनालाई गुमाएका ड्यामसाइडका कृष्णराम श्रेष्ठ आफै पनि घाइते भएका थिए । पहिरोमा परि घाइते भएका उनको घाउ त निको भइसक्यो, तर मनको घाउ निको भएको छैन अझै । पहिरोमा घरभित्रै परेका उनको पेटमा ठुलो चोट लाग्यो । अस्पतालमा उपचार गराए, डाक्टरले च्यातिएको शरीर सिलाइदिए तर फाटेको मन सिलाउन अझै सकिरहेका छैनन् उनी । पहिरोमा पत्निसहित दुई बालबच्चा र भाई गुमाएका उनले केहि समयअघि विवाह गरे अनि जिन्दगीको नयाँ अध्याय लिएर थातथलो फर्किए । अन्यत्र जग्गाजमिन नभएपछि पहिरोको छेवैमा उनले घर बनाइरहेका छन् ।

१ सय ४५ को जीवनलीला टुंगिएको त्यही ठाउँमा उनी जीवनको नयाँ अध्याय लिएर फर्किएका हुन् । मसानघाटमा फर्कीएर उनी यतिबेला पहिरोले लुटेको खुसी खोजीरहेका छन् । ‘अब त पहिरो आउँदैन होला भनेर यहिँ आएँ’, ड्यामसाइडमा भेटिएका उनी भन्दैथिए, ‘जाने ठाउँ कतै छैन, बास त बनाउनैपर्यो ।’

यस क्षेत्रका जनप्रतिनिधिहरुले भने सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । पहिरो गयो, घर लग्यो बनाएको घर पनि फेरी भुकम्पले लग्यो , दुवै तर्फबाट पीडित छन् जनस्तरबाट संकलन भएको रकममा पनि सरकारले अंकुश लगाउनु गलत भएको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद तथा पुर्वमन्त्री अग्नि सापकोटाले बताए । पीडितहरुको नाममा सकंलन भएको रकम पीडितहरुलाई नै वितरण गर्ने व्यवस्था मिलाउन आफु लागि रहेको सांसद सापकोटाले बताए।
राजधानीबाट

Logo