ससंदको अवरोध हटाउन मध्यमार्गी विकल्पसहित आज सर्वदलीय बैठक बस्दै

ससंदको अवरोध हटाउन मध्यमार्गी विकल्पसहित आज सर्वदलीय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
सर्लाही घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग सहित विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले मध्यमार्गी विकल्प अगाडि सार्नु भएको छ ।

नयाँ समिति गठनमा दलीय सहमति नभए सदनकै उक्त विषयको क्षेत्राधिकार रहेको समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव सभामुख महराको छ । दलीय सहमति भएमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन आफू तयार रहेको उहाँको भनाइ छ ।

समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षसँग निरन्तर अनौपचारिक छलफलमा रहनु भएका सभामुख महराले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई सदनबाटै विशेष निर्देशन दिएर घटना छानबिनको प्रक्रिया अगाडि बढाउन सकिने विकल्प अघि सार्नु भएको हो । नयाँ समिति गठनमा दलीय सहमति जुट्न नसकेको विकल्पका रूपमा यस्तो प्रस्ताव आएको हो ।

बुधबार सदन अवरुद्धपछि सभामुख महराले दलीय सहमतिका लागि आफू प्रयत्नशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दलीय सहमति भएमा तत्कालै समिति गठनमा म तयार छु । सहमति नभएमा राज्य व्यवस्था समितिलाई नै विशेष निर्देशनसहित घटना छानबिनको निर्देशन दिन सकिने मैले प्रस्ताव राखेको छु । बिहीबारसम्म केही न केही विषयमा सहमति हुनेमा म आशावादी छु । ”

आज सर्वदलीय बैठक आह्वान

प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख महराले बिहीबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो ।
गोरखापत्रबाट

Logo