काठमाडौँ,
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारी अनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको हो ।
आइतबार १० जनाको भ्रमण टोलीसहित शाक्य चीनको ल्हासा र छेन्दु सहरको भ्रमणमा गएका हुन् । महानगरपालिकाका अनुसार उनीहरू नौ दिने भ्रमणका लागि चीन गएका हुन् । भ्रमण टोलीमा नगरप्रमुख शाक्यकी धर्मपत्नी सुचिता शाक्य, वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, नगरकार्यपालिका सदस्य रश्मि खड्का र हिरा पोखरेल, प्रशासन महाशाखाका निर्देशक गणेश थपलिया र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत यम बस्याल, ललितकला प्रज्ञा प्रतिष्ठानका तर्फबाट धर्म शाक्य र सुष्मा राजभण्डारी रहेका छन् ।
कानुनतः जनप्रतिनिधिले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र भ्रमणमा जानुपर्ने हुन्छ । तर नगरप्रमुख शाक्यसहितको नगरपालिकाको जम्बो टोलीले सो कानुनी व्यवस्थाको खिल्ली उडाएका छन् । महानगरपालिकाले भने अनुमति लिएर नै भ्रमणमा गएको दाबी गरेको छ ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोल नगरप्रमुखसहितको टोलीे ल्हासा सहरको निमन्त्रणालाई स्वीकार्दै त्यसतर्फ गएको बताए । डंगोलले भने, ‘वर्षौंदेखि भगिनी सम्बन्ध स्थापित भएको चीनको ल्हासा र छेन्दु सहरको निमन्त्रणमा प्रमुखसहितको महानगरको टोली भ्रमणमा गएको हो । उनले प्रमुख शाक्य सरकारको अनुमति लिएर विदेश गएको दाबी गरे तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मंगलबारसम्म शाक्यको भ्रमण सम्बन्धी कुनै निर्णय भएको छैन ।
राजधानीबाट





























प्रतिक्रिया