गम्भिर चोट बोकेका बिमल एक बर्ष मैदान बाहिर रहने

गम्भिर चोट बोकेका बिमल एक बर्ष मैदान बाहिर रहने


काठमाडौं ।

गम्भिर चोट बोकेका नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्ती मगर एक बर्ष मैदान बाहिर रहने निश्चित भएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका बिमलले अभ्यासको क्रममा घुँडामा जटिल चोट बोकेका थिए । जसका कारण उनी बर्षदिन मैदान बाहिर रहने निश्चित भएको हो । त्यस अवधिभर उनले आफ्नो फिटनेस र चोटमा सजगताका साथ ध्यान दिंदै उपचारमा लाग्नु पर्ने बताइएको छ । उक्त कुराको पुष्टी राष्ट्रिय फुटबल टोलीका टिम फिजियो आविष्कार पुडासैनीले गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव ईन्द्रमान तुलाधरका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नु पर्ने चिकित्सकले बताएका छन् । चिकित्सकसँग थप परामर्शपछि उनको चोटको गम्भिरताको बिषयमा बताउन सकिने तुलाधरले बताए । लामो समयको विश्रामपछि बिमलले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले मुख्य फरवार्डको रुपमा बिमललाई गुमाउने भएको छ । विश्वकप छनोटको दौरानमा अनुशासनको कारबाहीमा परेका बिमल झण्डै तीन महिना कारबाहीमा परेका थिए । निलम्बन फुकुवापछि पनि उनलाई राष्ट्रिय टिममा राखिएन ।

नेपालले गत महिना बंगलादेशमा दुई मैत्रीपूर्ण फुटबल खेल्दा समेत बिमललाई राष्ट्रिय टिम बाहिर राखिएको थियो । बंगलादेशबाट फर्किएपछि टोलीको प्रारम्भिक ५८ सदस्यीय टोलीमा परेका बिमलले त्यसैका लागि आवश्यक तयारी समेत शुरु गरेका थिए । राष्ट्रिय टोली हाल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आवश्यक तयारीका लागि प्रशिक्षणमा व्यस्त छ । जसको नेतृत्व प्रशिक्षक बालगोपाल महर्जनले गरिरहेका छन् ।

कोरोनाले घरेलु फुटबल बन्द हुनु अघि बिमल मछिन्द्र क्लबसँग आबद्ध भएका थिए । कारबाही फुकुवा भएपछि बिमलले गत वर्षको लिगको अन्तिम खेलमा उत्रिएका थिए । मछिन्द्रले उनलाई लिगको अन्तिम खेल सहित मोफसलका प्रतियोगिताका लागि अनुबन्धन गरेको थियो ।

Logo