सिंगापुरमा नेपाली क्रिकेटरले सामना गरेको २ पीडा

सिंगापुरमा नेपाली क्रिकेटरले सामना गरेको २ पीडा

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला सिंगापुरमा छ ।  टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोट खेल खेल्न सिङ्गापुर गएको नेपाली क्रिकेट टोलीको खेल यात्रा आज टुंगिएको छ।  सिंगापुरमा नेपाली क्रिकेटरले आजै मात्र २ वटा पीडा भोग्न बाध्य भयो ।

पहिलो पीडा- विश्वकप खेल्ने सपना चकनाचुर  

आज भएको खेलमा नेपाल सिंगापुरसंग पराजित भयो । अन्तिम चरणको प्रतियोगितामा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको हो । यो सँगै विश्वकप खेल्ने नेपालको सपनामा पूर्णविराम लागेको छ ।

सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल पुरै २० ओभरमा अल आउट हुँदै १०९ रन मात्र बनाउन सक्यो । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै रहेको छ । सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको छ ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको नेपाल १०९ रनमै समेटियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । त्यस्तै १० बलमा १२ रन बनाउदैं कप्तान पारस खड्का क्याच आउट भए ।

दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि अभिनास बोहराले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चेर चार विकेट लिए । भने करण केसीले २ विकेट लिए । पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई हराएको थियो ।

दोश्रो पीडा- पदक फिर्ता

खेल समाप्तिपछि समापन समारोहमा सिंगापुर क्रिकेट एसोसिएशनले नेपाललाई उपविजेता भनेर पदक लगाई दियो । तर, केहीबेर पछि नै उक्त पदक खोसियो।   समान अंक ४ – ४ भएपछि रन रेटका आधारमा कतारले साे उपाधी आफ्नो टिमले पाउनपर्ने दाबी गरेपछि आयोजकले आफ्नो भनाई सँच्याएर पुन: कतारलाई नै उपविजेता घोषणा गर्यो ।

अन्तमा नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले नेपाली खेलाडीहरुबाट लगाइसकेको मेडल बटुलेर आयोजकलाई दिएका थिए । आयोजकले सो मेडल कतार क्रिकेट संघका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए ।

हारको पीडामा रहेका नेपाली क्रिकेटरहरुमाथि आयोजकको व्यवहारले थप लज्जित बनाइदियो ।

सन्दीप र सोमपाल क्यानडा जाने

यसैबीच बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामी सिंगापुरबाट सिधै क्यानडा जाने भएका छन्। ग्लोबल टी–२० खेल्नका लागि उनीहरु क्यानडा जान लागेका हुन् ।

गत वर्ष मोन्टरियल टाइगर्सका लागि खेलेका सन्दीपलाई यसपटक टोरोन्टो नेसन्सले भित्र्याएको छ । सोमपाललाई भने विनिपेग हक्सले आबद्ध गरेको छ ।

बाँकी नेपाली क्रिकेट टिम भोलि राति साढे १० बजे काठमाडौं आइपुग्ने भएको छ ।

Logo