पोखरा,
पोखरामा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालको लापरबाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका छन् । विरोधको क्रममा आक्रोशित स्थानिय र प्रहरी बिच झडप हुँदा ८ जना घाइते भएका छ । तीन जना गम्भीर घाइते भएका छन् भने अन्य पाँच जना सामान्य घाइते भएका छन् ।
बिहिवार विहान अस्पताल आएकी ३३ वर्षीय निशा कुमारी थापाको अस्पतालमै मृत्यु भएको हो । सामान्य रुपमा सुत्केरी भएकी निशाको उच्च रक्तस्राव हुँदा अस्पताललाई खबर गर्दा समेत कुनै वास्ता नगर्दा उनको मृत्यु भएको मृतककी दिदी सीता थापाले बताउनुभयो । बिहिवार विहान करिव ८ बजेको समयमा व्यथाले च्यापेपछी अस्पताल ल्यायाएर सामान्य अवस्थामा नै बच्चा जन्माएकी निशाको अस्पतालको कर्मचारीको हेल्चक्र्याइको कारण मृत्यु भएको दिदी सिताले बताउनुभयो ।
बच्चा जन्मिएको करिव चार घण्टापछि मात्र डाक्टरले अवस्था गम्भीर भएको भन्दै शल्यक्रिया गर्नुपर्ने जानकारी दिएको सिताले बताउनुभयो । बच्चा जन्मिएपछि आमालाई सफासुग्घर गर्यौं, पछि आएर वेडमा सुत्दा रगत बगेको रहेछ, रगतले पुरै भिजेको थियो, नर्सलाई खबर गर्दा , सामान्यरुपमा बच्चा जन्माउँदा रगत बग्ने भन्दै आफ्नै काममा लागे, सिताले भन्नुभयो । अस्पतालकै गल्तिको कारण बहिनिले ज्यान गुमाउन परेको सिताको भनाई छ ।
त्यसपछि आक्रोशित स्थानियले उपचारमा हेल्चेक्र्याई गर्ने डाक्टर र कर्मचारीलाई कार्वाही गर्नुपर्ने भन्दै नारावाजी गर्ने क्रममा झडप हुँदा चार स्थानीय र चार प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहार गरेको लाठीबाट स्थानीय नरबहादुर थापा , युवती विष्णु गुरुङ र प्रहरी हवल्दार मिनबहादुर तामाङ गम्भीर घाइते भएका छन् भने अन्य तीन प्रहरी जवान गणेशबहादुर विष्ट, डोलराज नेपाली र रुपा परियार र स्थानीय २ जना शोभाकर पौडेल र रमेश थापा समान्य घाइते भएका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया