रूखको लालपुर्जा : चेपाङ समुदायलाई निल्नु न ओकल्नू !

रूखको लालपुर्जा : चेपाङ समुदायलाई निल्नु न ओकल्नू !

केन्द्रबिन्दु
0
Shares

हेटौँडा,
जग्गाको जस्तै रूखको पनि लालपुर्जा हुन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर मकवानपुर जिल्लाका दुर्गम क्षेत्रमा रहेका चेपाङ समुदायसँग जमिनको लालपुर्जा नभए पनि चिउरी रुखको लालपुर्जा छ ।

चिउरीका बोटहरु भएका केटासँग छोरी विवाह हुँदा दाइजो दिने तथा भान्जाभान्जी र चेलीहरुलाई टीका लगाएर चिउरीको बोट दिने चलन चेपाङ समुदायमा रहेको छ । यस्तो चलनलाई बढावा दिँदै चेपाङ समुदायको आर्थिक स्तर बढाउन र जंगल जोगाउन तत्कालीन जिल्ला वन कार्यालय, मकवानपुरले चेपाङको नाउँमा संरक्षित वनको प्रमाणपत्र प्रदान गरेको थियो । तत्कालीन श्री ५ को सरकार लेखिएको र निशान छाप भएको उक्त प्रमाणपत्रलाई चेपाङहरुले लालपुर्जा भन्ने गरेका छन् ।

तर वि.सं. २०४८ सालदेखि वन कार्यालयले चिउरीको रुखको प्रमाणपत्र वितरण तथा संरक्षण सम्बन्धी काममा ध्यान दिन छाडेपछि चिउरीको लालपुर्जा बेवारिस बनेको थियो । ‘पहिला सरकारले यतिवटा चिउरीको रूख तिम्रो हो भनेर किटान गरेर लालपुर्जा दिन्थ्यो’, सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूह राक्सिराङका कार्यालय सचिव वामदेव चेपाङ भन्नहुन्छ–‘त्यसो गर्दा चिउरीका रूखहरु आफ्नै जस्तो लाग्थ्यो ।’ तर अहिले पाखुरीको भरमा चिउरीको उपभोग हुन थालेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आफूले पनि मामाबाट टिका लगाएर ९१ वटा चिउरीका बोट प्राप्त गरेको चेपाङ अगुवा एबम् पूर्व सांसद गोविन्दराम चेपाङको भनाइ रहेको छ । तत्कालीन सरकारले पञ्चायतकालमै चिउरीको बोटको संरक्षण गर्ने र उपभोग समेत गर्ने गरी वि.सं. २०४३ सालदेखि प्रमाणपत्र दिन थालेको थियो । बहुदल प्राप्त भएपछि वि.सं. २०४८ सालबाट चिउरीको लालपुर्जा वितरण गर्न छाडिएको सांसद गोविन्दरामले स्मरण गर्नुभयो ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo