ढुवानी रोकिँदा वीरगन्जमा हजारौं ट्रक सामान अड्कियो

ढुवानी रोकिँदा वीरगन्जमा हजारौं ट्रक सामान अड्कियो

केन्द्रबिन्दु
0
Shares

वीरगंज,

देशको प्रमुख नाका वीरगन्जमा यातायात तथा ढुवानी हड्तालका कारण हजारौं ट्रक मालसामान रोकिएको छ । राजधानीसँगै देशको विभिन्न भागमा लैजानुपर्ने सामान सुक्खा बन्दरगाह, आइसिपी र साबिक भन्सारमा अड्किएका हुन् । त्यसैैगरी वीरगन्जका उद्योगहरुमा तयार भएका मालसामान पनि निकासी हुन नपाएको उद्योगीहरुले बताएका छन् ।

वीरगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाका अनुसार यहाँका व्यवसायीहरुले साउन १ गते बुधवार अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि वीरगन्जबाहिर सामान पठाउन पाएका छैनन् । मालवाहक साधनहरु भाडामा नपाएर उनीहरुको सामान वीरगन्जकै गोदाममा थन्किएर बसेको छ । वीरगन्जबाट स्वदेसी नम्बरको एउटा पनि लरी, ट्रक, प्लेटफर्म ट्रक वा टेलरमा मालसामान ओसारपसार हुन पाएको छैन । सरकारले लागु गरेको ‘भेइकल कन्साइन्मेन्ट ट्र्या्किङ सिस्टम’ (भीसीटीएस ) प्रणाली र ढुवानी व्यवसायमा सरकारले गत जेठ १५ को बजेटमार्फत लगाएको मुल्य अभिबृद्धी करले गर्दा देशभरका यातायात तथा ढुवानी व्यवसायीसँगै वीरगन्जमा समेत ढुवानी व्यवसायी आन्दोलित छन् ।

‘ढुवानी व्यवसाय सम्बद्ध संघसंस्थाहरुले यो आन्दोलन घोषणा गरेका होइनन्, ढुवानी व्यवसायीहरु स्वतःस्फुर्त रुपमा आन्दोलित भएको अवस्था हो, ढुवानी कहिले खुल्नेमा कुनै ठेगान देखिदैन,’ ट्रान्सपोर्ट एशोसिएशन पर्साका अध्यक्ष बालकृष्ण बस्नेतले भने, ‘सरकारले हालै लागू गरेको व्यवस्था अव्यावहारिक भन्दै ढुवानी ब्यवसायीले आन्दोलन गरेका हुन् ।

ढुवानीमा मुल्य अभिबृद्धी कर (भ्याट) लागु भएको छ, अब भन्नु ढुवानी व्यवसायी खरिदकर्ता पनि होइनन्, विक्रीकर्ता पनि होइनन् भ्याट कसरी दिउँ, भन्ने सबैको भनाई छ ।’ उनका अनुसार ढुवानी ब्यवसायीको भनाईमा भिसिटिएस पनि अव्यावहारिक छ । ‘वीरगन्जमा डाटा इन्ट्रि व्यवहारमा लागु गर्न कठिनाई छ, नेपालका धेरै ठाउँ जहाँ इन्टरनेटको पहुँच छैन त्यहाँ कसरी होला ?’ उनले प्रश्न गरे ।

आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई नै भीसीटीएसका बारेमा कसरी अनलाइन डाटा इन्ट्री गर्ने भन्नेबारे पर्याप्त जानकारी नभएको ढुवानी ब्यवसायी बताउँछन् । यस्तोमा यो लागु गर्न सहज नभएको उनीहरुले प्रतिक्रिया दिए ।
नागरिकबाट

Logo