काठमाडौं,
लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विभिन्न सेवा समूह तथा उपसमूहको परीक्षा आजबाट सुरु भएको छ ।
आयोगले गत जेठ १५ मा स्थानीय तह मात्रका लागि विशेष कार्यतालिका बनाएर ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको थियो । आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेको भन्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले रद्द गरी करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको थियो । तर यस सम्बन्धी मुद्दा अदालतमा परेसँगै अदालतले विज्ञापन जारी राख्ने पक्षमा फैसला गरेको थियो ।
के हुने भन्ने अन्योलबीच आयोगको परीक्षाले निरन्तरता पाएको छ । परीक्षामा साढे चार लाखको संख्यामा परीक्षार्थी सहभागी हुने आयोगले जनाएको छ । पद अनुसार परीक्षाको मिति भने फरक फरक रहेको छ । आयोगले सञ्चालन गर्ने परीक्षाका क्रममा परीक्षा हलभित्र मोबाइल, झोला तथा विद्युतीय सामग्री लैजान प्रतिबन्ध गरेको छ । आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षार्थीलाई झोला र मोबाइलसमेत परीक्षा केन्द्रको गेटभन्दा भित्र लैजान निषेध गरिएको छ । यसअघि परीक्षार्थीलाई परीक्षा हलभित्रै झोला र मोबाइल लैजान दिइन्थ्यो ।
यता परीक्षाको पूर्वसन्ध्यामा समेत विज्ञापन रद्दको माग समेतले निरन्तरता पाएको छ । यो विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति महासंघ लगायत आरक्षण बचाऊ अभियानले आन्दोलन गर्दै आएको छ ।
राजधानीबाट





























प्रतिक्रिया