अबरुद्ध खुर्कोट–घुर्मी सडक सञ्चालनमा आयो

अबरुद्ध खुर्कोट–घुर्मी सडक सञ्चालनमा आयो

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु,

मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अबिरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।

करीब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुईतर्फी नै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।

पहिरो पन्छाएपछि सवारी आवागमन शुरु भएको यातायात व्यवसायी दोर्जी शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार शुक्रबार आंशिक रुपमा सवारी सञ्चालन भएका छन् । शनिबारदेखि पूर्णरुपमा सवारी सञ्चालन गर्ने गरि टिकट दिन शुरु गरिएको दुधकुण्ड यातायात प्रालि काठमाडौं काउण्टरका ईन्द्र कटेलले जानकारी दिनुभयो ।

“सडक अझै पनि जोखीम युक्त छ ।” उहाँले भन्नुभयो, “सामान कम गरेर भए पनि जसोतसो सेवा दिन थालिएको छ ।” हप्ता दिनदेखि अलपत्र परेका यात्रु गन्तब्यतर्फ प्रस्थान गर्न थालेको सोलुखुम्बु ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सवारी आवागमन शुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ । सवारी आवागमन सञ्चालन भएपछि यात्रु खुसी भएका छन् । तर सडक जोखिम युक्त भएकाले अझै पनि राम्रो गरी मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका–६ का वडाध्यक्ष फुर्तिमान तामाङले बताउनुभयो ।

शुक्रबार काठमाडौँबाट मोटरसाइकलमा सोलुखुम्बु आउनु भएका अध्यक्ष तामाङले अझै केही दिन कष्टपूर्ण यात्रा गर्नुपर्ने बताउनुभयो । उहाँले मोटरसाइकल एक्लैले लैजान अलि कठिन हुने भन्दै साथीसँग यात्रा गर्न आफ्नो फेसबुक पेजमार्फत सुझाव दिनुभएको छ ।

यता सिद्धिचरण लोकमार्ग भने सञ्चालनमा आउन केही दिन समय लाग्ने बताइएको छ । सडकखण्डको ठाँटी लगायतको क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेकाले सकेसम्म चाँडै सञ्चालनमा आउने उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो । सवारी आवागमन ठप्प हुँदा महङ्गीसमेत बढ्न थालेको छ भने सोलुुुुखुम्बु लगायतको जिल्लामा तरकारी लगायतको खाद्य वस्तुसमेत पाउन छाडिएको उपभोक्ताले बताएका छन् ।
रासस

Logo