तीन करोडको हुलाक टिकट बेकम्मा

तीन करोडको हुलाक टिकट बेकम्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
कार्यालय बाहिर चौकीदार । भित्र चौबीसै घण्टा बन्दुकसहितका प्रहरीको पहरा । कार्यालयको तेस्रो तलामा भण्डारण छ । गेटमा लाहा लगाएर तीन वटा ताल्चा मारिएको छ ।

यो कुनै बैंक हो न त कुनै सरकारी चलअचल सम्पत्ति संग्रह गर्ने कार्यालय । राज्यको सम्पत्ति राख्ने ठाउँ नभए पनि महत्त्वपूर्ण वस्तु भण्डारण छ यहाँ । त्यो हो हुलाकी टिकट । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयलाई टिकट छपाइ र भण्डारणको जिम्मेवारी छ । टिकट भण्डारणमा अहिले चलनचल्तीका मात्रै राखिएको छैनन्, कामै नलाग्ने टिकट पनि संगृहीत छन् ।

बहादुर शाहदेखि राजा वीरेन्द्र र ज्ञानेन्द्रसम्मका टिकट छन् । जुन टिकटको मूल्य तीन करोड रुपैयाँ पर्छ । हुलाकले लोकतन्त्रपछि ती टिकट बिक्रीवितरण गरेको छैन । जसले कार्यालयको बोझ मात्रै बनेको छ ।

बेपत्ता रहेका रामप्रसाद राईलाई हचुवामै सहिद भनेर छापिएका १० रुपैयाँ दरका एक लाख ८० हजार थान हुलाक टिकट पनि यहीं भण्डारण छ । मुमा बडामहारानीको २० रुपैयाँ दरको ३ लाख ३४ हजार, राजा वीरेन्द्रको आठ रुपैयाँ दरको २ लाख ८० हजार, राजा वीरेन्द्रकै नौ रुपैयाँ दरको १६ लाख ४३ हजार एक सय थान, श्रीपेच भएको एक रुपैयाँको २ हजार थान, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको २ रुपैयाँ दरको १० लाख थान गरी तीन करोड मूल्यको टिकट काम नलाग्ने भएको छ । टिकट बिक्री नहुँदा राज्यले आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।

२० करोड रुपैयाँ वार्षिक टिकटबाट आम्दानी हुने मुलुकमा यो रकम ठूलो हो । राईकै टिकटमा पनि राज्यको ढुकुटीबाट १८ लाख रुपैयाँ स्वाहा भयो । हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले कुनै निकायबाट भएको गल्तीले राज्यको धन नोक्सानी भएको बताए । राई तेस्रोपटक टिकटमा अंकित भएका छन् , प्रजातान्त्रिक योद्धा नाममा । सन् १९९८ मा पनि राईको ७५ पैसा दरमा टिकट छापिएको थियो ।

नेपालमा सन् १८८१ मा गोर्खा सरकारका नामबाट एक आना, दुई आना र चार आना दरका टिकट भारतमा छपाइ भएको थियो । गुणस्तरका कारण राणाकालमै युरोपियन प्रेसबाट टिकट छपाइ हुन थालेको पाइन्छ ।

नेपालमा १ रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म फरक–फरक रुपैयाँ गरी २४ आइटमका टिकट छापिन्छन् । यहाँको टिकट विश्व हुलाक संघले आयोजना गर्ने प्रदर्शनीमा उत्कृष्ट हुने गरेको छ । मालपोत रजिस्ट्रेसन गर्न, अदालती तमसुक, बिमा, व्यक्तिगत तथा कार्यालयीय चिठीका लागि हुलाक टिकट टाँस्नुपर्छ । यसलाई राजस्व तिरेको प्रमाणका रूपमा लिइन्छ।

हुलाक टिकटको डिजाइन विभागले गर्दछ । छपाइमा ग्लोबल टेन्डर गरिन्छ । दुई वर्षका लागि ६ करोड टिकट छपाइ हुन्छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले सन् २०२० का लागि तीन लाख ७२ हजार डलरमा ६ करोड टिकट इन्डोनेसियाको एक कम्पनीमा छपाइ गरेको छ । ती टिकट सन् २०१९ को अन्त्यतिर नेपाल ल्याइन्छ।
अन्नपूर्णबाट

Logo