काठमाडौं,
धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ । तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ।
काउन्सिलका सदस्य डा. ढुण्डीराज पौडेलका अनुसार, काउन्सिलले पीडित पक्षको निवेदनका आधारमा ग्रान्डीसँग असम्बद्ध चिकित्सकहरूको एउटा छानबिन समिति बनाएको छ। ‘समितिले गहिराइमा पुगेर छानबिन गर्दैछ।
छानबिनपछि आउने परिणामले दोषीलाई सचेत गराउने, कारबाही गर्ने र निलम्बनसम्म गर्न सक्छ’, पौडेलले भन्नु भएको छ– ‘छानबिनको प्रक्रिया पूरा गर्न केही समय लागे पनि पीडितले न्याय पाउनेमा निश्चिन्त भए हुन्छ ।’ अस्वस्थ शिशुका पिता सञ्जीव न्यौपाने र माता एकता घिमिरेले नेपाल मेडिकल काउन्सिलमा झन्डै एक महिना अघि उजुरी दिनु भएको हो । छानबिनका लागि टोली गठन भएर कामको थालनी गरेको सम्बन्धमा आफूलाई कुनै जानकारी नदिइएको न्यौपाने दम्पतीले बताउनुभयो ।
झन्डै १३ महिना अघि, २०७५ असार १२ गते न्यौपाने दम्पतीलाई पहिलो सन्तान प्राप्त भयो । ‘सामान्य स्वास्थ्य समस्या’ भन्दै शिशुको उपचार गर्दै आएको ग्रान्डीले मस्तिष्कमा पानी जमेको देखेन वा देखेर पनि लुकायो, परिणामस्वरूप शिशुको स्वास्थ्य झन् जटिल हुँदै गयो। ‘छानबिनपछि आउने परिणामका आधारमा दोषीलाई कारबाही हुन्छ।’ –डा पौडेलले भन्नुभयो । नयाँ संशोधित ऐन अनुसार यस्तो मुद्दामा विज्ञहरूको परामर्श अनिवार्य चाहिन्छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया