खोटाङ,
पहिरोका कारण राष्ट्रिय सडक सञ्जालबाट विच्छेद हुँदा खोटाङका बिरामी हेलिकोप्टर चार्टर गरी अस्पताल जान बाध्य बनेका छन्। वर्षा र पहिरोका कारण खोटाङबाट सहर पुग्ने सडक अवरुद्ध हुँदा जिल्ला अस्पतालले रेफर गरेका बिरामी महँगो शुल्क तिरेर हेलिकोप्टर प्रयोग गर्न बाध्य भएका हुन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम, दिक्तेल–काठमाडौं, दिक्तेल–कटारीलगायत सडक शुक्रबारदेखि ठप्प छन्।
जिल्ला अस्पतालबाट थप उपचारका लागि रेफर भएकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ६५ वर्षीय हस्तकला राई मंगलबार हेलिकोप्टरबाट काठमाडौं लगिएकी छन्। प्रेसरले ढलेकी राईलाई सोमबार दिक्तेल अस्पतालमा भर्ना गरिएको थियो । तर सघन उपचारको आवश्यकता देखिएपछि उनलाई अस्पतालले रेफर ग¥यो । रेफर गरिए पनि एम्बुलेन्स वा अन्य गाडीमार्फत अन्यत्र अस्पताल लैजान सक्ने अवस्था थिएन। मंगलबार राति आठ बजे क्यानाडा उडानका लागि सेड्युल भएका सोल्माकै हेमन्त राईले दुई लाखमा हेलिकोप्टर चार्टर गरेपछि हस्तकलाले पनि अस्पताल पुग्ने मौका पाइन्।
स्वास्थ्यकर्मीका अनुसार उनको प्रेसर २१०/१८० छ। गाडीबाट अस्पताल लैजान सकिने अवस्था नभएकाले हेलिकोप्टर प्रयोग गर्नुपरेको हस्तकलाका छोरा नयन राईले बताए। ‘गाडीको विकल्प नभएपछि हेलिकोप्टर प्रयोग गर्न बाध्य भयौं,’ उनले भने, ‘उपचार गर्न पुग्ने खर्च हेलिकोप्टरको भाडामै खर्च भयो।’
पहिरोका कारण हप्ता दिनदेखि सडक अवरुद्ध हुँदा जिल्लाका बिरामी मारमा परेका हुन् । तत्काल अस्पताल लैजानुपर्ने प्रकृतिका बिरामी बढी समस्यामा परेका छन् । अत्यावश्यक कामले जिल्लाबाहिर जानु–आउनुपर्ने स्थानीयसमेत मारमा परेका छन्।
पहिरोका कारण सडक अवरुद्ध हुँदा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता पुनः सुरु भएको सोल्माका स्थानीय ध्रुवविक्रम राईले बताए। ‘रोड बिग्रेर जिल्लाबासीको विडम्बना फेरि सुरु भएको छ,’ राईले भने, ‘आर्थिक रूपमा कमजोर नागरिकको थाप्लोमा समस्या थोपरिएको छ।’
नागरिकबाट































प्रतिक्रिया