काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् । नेपाली समाज ऐतिहासिक कालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र रहेको जनाउँदै राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाहपञ्चमी पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वा्स व्यक्त गरेकी हुन् ।
पर्वका समयमा सामाजिक अन्तर्क्रिया बढ्ने हुनाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन उनले सबैमा आह्वान गरेकी छिन् ।
मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्बर्द्धन गर्न विवाहपञ्चमी पर्वमार्फत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले दिएकी छिन् ।
प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्व रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिने हुनाले यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्या आरती गर्ने तथा रामायणमा वर्णन भएका घटनाहरूको स्मरण एवम् कथा वाचन गर्ने परम्परा रहि आएको छ । यसैगरी विवाहोत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने समेत परम्परा छ ।रासस





























प्रतिक्रिया