सहमतिसँगै सहज बन्यो पेट्रोलियम आयात

सहमतिसँगै सहज बन्यो पेट्रोलियम आयात

केन्द्रबिन्दु
0
Shares

विराटनगर,

ढुवानी मजदुरको आन्दोलनका कारण चार दिनदेखि अनियमित बनेको पेट्रोलियम आयात शनिबार रातिबाट सहज बनेको छ । भारतीय पक्षसँग सहमति भएपछि ढुवानी मजदुरले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

मजदुर, नेपाल आयल निगम र मोरङ प्रशासनको भारतीय पक्षसँग भएको वार्ता सहमतिमा पुगेपछि शनिबार राति १० बजेबाट पेट्रोलियम पदार्थ (इन्धन) बोकेका ट्यांकर सहज रुपमा नेपाल छिर्ने वातावरण बनेको हो । सहमतिसँगै भारतको बरौनी डिपोबाट लोड अनलोड नै बन्द गरेर सुरु भएको मजदुर आन्दोलन फिर्ता भएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव अचार्यले बताए ।

उनका अनुसार वातावरण सहज भएपछि आन्दोलनका कारण भारतीय भूमीमै रोकिएका १ सय १९ वटा ट्यांकर आइतबार बिहान २ बजेसम्म लगाएर नेपाल ल्याइएको छ । आचार्यले पेट्रोलियम पदार्थ बोकेका ट्यांकर अन्य मालबहाक सवारी साधन जस्तो लाममा लगाउन नपर्ने, ट्यांकरको जाँचपासलाई चाँडो र सहज बनाउने, मजदुरमाथि दिइने अनेक खालका तनावको अन्त्य गर्ने, जाँचपासका लागि पेट्रोलियम ट्यांकर भारतीय आईसीपीसम्म लैजान नपर्ने र भारतको बथनाहामै पार्किङ गरेर जाँचपासको व्यवस्था मिलाउने सहमति भएको बताए । तर ट्यांकरले बाटो भने जोगवनी नाकाकै प्रयोग गर्नु पर्ने भएको छ ।

मजदुरहरुले जोगवनी नाकाको नभइकन आईसीपीको बाटो प्रयोग गरेर नेपाल ट्यांकर ल्याउन पाउनु पर्ने माग गरेका थिए। आईसीपी निर्माणाधिन अवस्थामा रहेका कारण अहिले पुरानै बाटो प्रयोग गर्ने र निर्माण सकिएपछि मात्रै आईसीपीको नयाँ बाटो प्रयोग गर्ने सहमति भएको आचार्यले जानकारी दिए ।

भारतको मिरगञ्जदेखि जोगवनीसम्मको ४ किलोमिटर सडक पनि अहिले मर्मत सम्भार गर्ने काम भइरहेको छ । सडक भत्किएर खाल्डा बनेको र दोहोरो सवारी आवागमन हुन नसक्ने भन्दै जोगवनीबासीले अवरोध गरेपछि खाली मालबाहक सवारी साधन भने आईसीपीकै बाटो हुँदै भारततर्फ फर्काउने गरिएको छ ।
अन्नपूर्णबाट

Logo