वीरगन्ज,
वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ ।
बिहान करिब साढे दुई बजेदेखि सुरु भएको आगलागी साँझ करिब ७ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए । उद्योगमा लागेको आगो निभाउन लागि पाँचवटा वारुण यन्त्रको सहयोग लिइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
आगो निभाउनका लागि वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट वारुणयन्त्र झिकाएर खटाइएको थियो । पाँच वटा बारुणयन्त्र (दमकल) को मद्दतले आगो नियन्त्रणमा आएको हो । बारुणयन्त्रको सहयोगमा संगै रहेका अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी संयुक्त रुपमा खटिएका थिए ।
आगलागीबाट कति क्षति भयो भन्ने यकिन नभएको र आइतवार (आज) एक समिति बनाएर क्षति यकिन गरिने बताइएको छ ।
नागरिकबाट





























प्रतिक्रिया