काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादीयुक्त भारतीय तरकारीको अवरोध हटाउने निर्णयबारे प्रष्टिकरण दिएका छन् । सीमा नाकामा क्वारेन्टाइनको उचित व्यवस्था नभएपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्नबाट सरकार एक स्टेप पछि हटेको बताए । सवै पूर्वाधार निर्माण भएपछि पुनः सुरु गरिने प्रधानमन्त्रीको भनाई छ ।
संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको दाबी गरे ।
भारतबाट दबाब पत्र आएको बारे आफुलाई जानकारी नभएको भन्दै प्रधानमन्त्रीले भने, ‘भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो ? मैले थाहा पाइनँ। कसले पढ्यो त्यो पत्र ? मैले बुझेको छैन’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारीबिना यस्तो भयो। त्यस कारण अलिकति समस्या पर्यो। हाललाई यसलाई छोड्नु पर्यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु पर्यो, क्वारेन्टाइन विकास गर्नु पर्यो अनि यसलाई लागू गर्नु पर्यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर गर्यौं हालका निम्ति।’
जनताले शुद्ध र विष रहित खानेकुरा खान पाउन् भन्ने सरकारको चाहना भएको बताए। ‘विषादीयूक्त चिज खानु हुँदैन। त्यो हामीले नै भनेको हो। अहिले जान्ने धेरै निस्किए। त्यो हामीले नै भन्यौं। अनि सबैको ध्यान गयो,’ उनले भने, ‘नेपाललाई हामी अर्गानिक बनाउन चाहन्छौं। खाने कुरा शुद्ध होस्। हाम्रो भान्सामा विष नपुगोस्। त्यो हाम्रो आकांक्षा हो। र, यसलाई हामी पूरा गर्छौं।’





























प्रतिक्रिया