सक्रिय मनसुन भित्रिन अझै एक साता लाग्ने

सक्रिय मनसुन भित्रिन अझै एक साता लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ । गतवर्ष भन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्नेछ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले मनसुन अहिले निष्क्रिय अवस्थामा रहेको बताउनुहुँदै सक्रिय हुन अझै केही दिन लाग्ने उल्लेख गर्नुभयो । तत्काल झमझम पानी पर्ने सम्भावना देखिन्न भन्दै प्रधानाङ्गले मध्यभारतमा रहेको न्यून चापीय क्षेत्र बिस्तारै माथि सरिरहेको प्रस्ट्याउनुभयो ।

गतवर्ष असार तेस्रो साता भारी वर्षा भएको थियो तर यस वर्ष मनसुन ढिला गरी नेपाल प्रवेश गरेकोमा पोहोरको अपेक्षामा सक्रिय हुन समय लागेको महाशाखाका अर्का मौसमविद् शान्ति कँडेल बताउनुहुन्छ । उहाँले एकनासले सबैतिर पानी पर्ने सम्भावना नरहेको भन्दै खण्ड–खण्डमा सामान्य रूपमा क्षणिक वर्षा हुने सम्भावना देखिएको बताउनुभयो । मनसुन सक्रिय हुन आवश्यक ‘म्याइस्चर’ अझै आइसकेको छैन ।

कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले समयमै मनसुन सक्रिय भएर भारी वर्षा नहुँदा मध्यपहाडी क्षेत्रमा धान लगाउन ढिला भएको बताउनुभयो । गतवर्ष असार १५ सम्म २० प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष असार २० गतेसम्म १५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने मध्य तथा पूर्वी मधेसका जिल्लामा भने हालसम्म ११ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

वार्षिक १४ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । पचास प्रतिशत क्षेत्रफल झापादेखि पर्सासम्मको मध्य तथा पूर्वी मधेसका ११ जिल्लाले ओगटेको छ ।
गोरखापत्रबाट

Logo