काठमाडौं । सशस्त्र प्रहरी बलका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले उनीहरुलाई सफाई दिएको हो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो ।
उनीहरुसहित २२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार (रकम हिनामिना) मुद्दामा २०७२ सालमा मुद्दा दायर गरेको थियो। प्रतिवादीहरूले सामान खरिद, बिल भर्पाई तथा ठेक्कापट्टामा करोडौँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले मुद्दा दायर गरेको थियो।
विशेष अदालतले ‘मिसिल संलग्न कागज र प्रमाणबाट भ्रष्टाचार भएको भन्ने आधार नदेखिएको’ फैसला गर्दै प्रतिवादीहरूलाई सफाई दिएको हो। २०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) वन्त पदबाट निलम्बन भएपछि २०७२ माघ १८ मा उनीसहित ८ विरुद्ध मुद्दा दायर गरिएको थियो। पूर्व आईजीपी श्रेष्ठसहित ४ जनाविरुद्ध माघ २४ मा मुद्दा दायर गरिएको थियो। वलीसहित ३ जनाविरुद्ध माघ २९ र बस्नेतसहित ७ जनाविरुद्ध फागुन १७ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।





























प्रतिक्रिया