इन्टरनेसनल इन्डिया फिल्म एकेडेमी (आइफा) अवार्ड आयोजना गर्न सरकारले ठूलो रकम सहयोग गर्ने निर्णय गरेपछि चौतर्फी बिरोध शुरु भएको छ।
सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आइफा अवार्डलाई सहयोग गर्न खोजेको बताए पनि यस्तो कार्यक्रम योजना गर्दैमा पर्यटन प्रवर्द्धन नहुने भन्दै बिरोध शुरु भएको हो। सामाजिक सञ्जालहरुमा आम सर्वसाधारणदेखि पत्रकार, लेखक, कलाकार, चिकित्सक तथा राजनीतिकर्मीहरुले समेत सरकारी निर्णयको चर्को बिरोध गरेका छन्।
यसरी बिरोध गर्नेमा पूर्व उपप्रधान तथा रक्षामन्त्री एवम सत्तारुढ दल नेकपाका नेता भिम रावल समेत रहेका छन्। उनले भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाको लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिव १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खवर सुन्दा आश्चर्य लागेको उल्लेख गरेका छन्। ‘यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला ?’ उनले प्रश्न गरेका छन् ।

त्यस्तै चलचित्र निर्देशक प्रदीप भट्टराईले पनि ‘आइफा’ नेपालमा हुनु राम्रो कुरा भएपनि तीन बर्षसम्म पालको आफ्नै राष्ट्रिय अवार्ड वितरण गर्न नसकेकोमा गुनासो पोखेका छन् । ‘एउटा फिल्म सिटी बनाउन आलटाल गर्ने अनि अर्काको अवार्ड गर्न चै किन तातो लाग्या ? मैले त बुझिन तपाईंले बुझ्या भएन भन्दिनु है ।’ भट्टराईले लेखेका छन्।

अर्का चलचित्र निर्माता तथा निर्देशक केपी पाठकले पनि यस्तो अवार्ड कार्यक्रम आयोजना गर्नु भन्दा बरु चलचित्र छायांकनका लागि आमन्त्रण गरे नेपालको पर्यटन प्रवर्द्धन हुने उल्लेख गरेका छन्। उनले तीन वटा सर्त राखेर चलचित्र छायांकन गर्न दिनुपर्ने भन्दै सरकारलाई सुझाव दिएका छन्। ‘बर्षको ६ वटा बिग ब्यानर र बिग स्टारहरु भएको बिदेशी चलचित्र नेपालमा छायान्कन गर्दा काठमाडौंमा गरिने महँगो अवार्ड ले भन्दा बढी देशमा र बढी मानिसमा नेपालको पर्यटन प्रबर्धन हुने हो कि ?’ उनले फेसबुकमा लेखेका छन्।

त्यस्तै विद्यार्थी नेता जागृत रायमाझीले पनि संचारमन्त्री गोकुल बस्कोटालाई इंगित गर्दै अवार्ड कार्यक्रम सरकारको भद्धा मजाक भन्दै टिप्पणी गरेका छन् । ‘यसले नेपाली फिल्म उधोगको प्रवर्द्धन होइन बलिउडको आयात मात्र गर्छ। सांस्कृतिक साम्राज्यबादको सांस्कृतिक दलाली गरेर के सांस्कृतिक बक्सिस पाउने ?’ उनले आक्रोश पोखेका छन्।

त्यस्तै राजेन्द्र शलभले पनि आइफा अवार्डका लागि ४४ करोड दिनु भन्दा ४४ जनालाई ४४ भाषामा चलचित्र बनाउन दिनु उत्तम हुने धारणा राखेका छन्।

त्यस्तै लेखक तथा पत्रकार यज्ञसले पनि नेपालमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्न एक करोड छुट्याउन नसक्ने सरकारले बलिउड अवार्डलाई ४४ करोड दिने कुरा अस्वाभाविक रहेको बताएका छन्। ‘यस्तो बुद्धि कसले दिन्छ भनुआ ! प्रचारै हो भने यति पैसामा त जस्ता च्यानलमा पनि विज्ञापन हुन्छ हौ !’ उनले लेखेका छन् ।

अवार्डको सर्वसाधारणले पनि चर्को बिरोध गरिरहेका छन्। विजय शाहीले ‘फिलिंग एङ्गग्री’ भन्दै लेखेका छन्, ‘ सरकारले ६५ करोड रूपैयाँभन्दा बढी खर्च गरेर बलिउडको ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड’ (आइफा) काठमाडौंमा गर्ने निर्णय गरेको छ रे । थुक्क तिम्रा बुद्दि, जनताले नखाई नखाई कर तिरेको पैसा खर्च गर्ने अन्त कतै ठाउँ देखेनौ ? ६५ करोड मा कतिवटा पुल बन्न सक्थ्यो ? कतिवटा अस्पताल बन्न सक्थ्यो ? कति किलोमिटर बाटो बन्न सक्थ्यो ? तिम्रा बाउको सम्पत्ति होईन क्यारे उडाउ उडाउ…तिमिहरु आफै उड्ने दिन नजिकिंदै छ ।




कार्यक्रम अबरुद्ध पार्ने चेतावनी
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आईफा अवार्ड कार्यक्रम गर्न सरकारले रकम व्यहोर्ने निर्णय गरेकोमा बोरिध जनाउंदै यो रकम तत्काल नरोके कार्यक्रम अबरुद्ध पार्ने चेतावनी दिएका छन् ।
‘एउटा पूर्ण रुपमा नाफा कमाउने उद्देश्यले स्थापित प्राइभेट कम्पनी विजक्राफ्ट इन्टरन्याशनल इन्टरटेन्मेन्ट प्रालिले आफ्नै खर्चमा गर्दै आएको कार्यक्रम परम्परा बिपरित नेपाल सरकारले खर्च ब्यहोर्ने यो कार्य चरम भ्रष्टिकरणको नमुना हो। ‘ जारी विज्ञप्तिमा भनिएको छ। अभियानका संयोजक स्वागत नेपालले कार्यक्रमको संयोजक राज्यमन्त्री रहने निर्णय झनै लज्जाजनक भएको भन्दै भने, ‘सरकारले आफ्नै देशभित्रैको पनि नाफा कमाउने उद्देश्यले सञ्चालित कम्पनीलाई सरकारी रकम चन्दा स्वरुप उपलब्ध गराउनु सोझै भ्रष्टाचारको परिभाषाभित्र पर्छ ।’
सरकारले एकातर्फ क्लिन फिड लागू गरी अन्य मुलुकका विज्ञापनमा प्रतिबन्ध लगाउने नीति लिएको प्रचार गर्ने तर भित्रभित्रै जनताको कर तिरेको रकमबाट संकलित राज्यकोष नै भ्रष्टाचारयुक्त रुपमा विदेशी संस्कृतिको स्वदेशभित्र आमन्त्रित हस्तक्षेपको रुपमा विस्तार गर्ने एजेण्टको रुपमा देश र संस्कृतिघाति गतिविधि गर्ने क्रमलाई तत्काल रोक्न बिज्ञप्तिमा भनिएको छ ।






























प्रतिक्रिया