न मनसुन, न मल : सुख्खा हुने भो असार पन्ध्र

न मनसुन, न मल : सुख्खा हुने भो असार पन्ध्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मानो रोपेर मुरी फलाउने किसानको महोत्सव धानबाली रोपाइँलाई यसवर्ष न प्रकृतिले साथ दियो, न त सरकारी अनुदानित मलले नै । यस वर्ष किसान सरकार र प्रकृृति दुवैबाट ठगिन बाध्य भए ।

धानबाली रोपाइँकै समयमा न त मनसुनी पानी पूर्ण रूपमा सक्रिय हुन पायो, न त सरकारले किसानलाई चाहिने परिमाणमा समयमा मल नै उपलब्ध गराउन सक्यो । यी दुई नियतिको भुमरीमा किसान पेलिन बाध्य भए । सिँचाई भएका क्षेत्रका किसानले आइतबार दही–च्युरा खाएर राष्ट्रिय धान दिवस मनाउने तयारी गरेका छन् । नभएका ठाउँमा, उही त हो–पुर्पुरोमा हात ।

करिब १० दिन ढिलो गरी सुरु भएको मनसुनी वर्षा सबै क्षेत्रमा एकै रूपले सक्रिय हुन सकेन । कुनै स्थानमा थोर बहुत पानी परेको छ । कुनै स्थानमा मनसुनी पानी नपरेर धानको ब्याडसमेत किसानले राख्न पाएका छैनन् । यसले अघिल्लो वर्षको तुलनामा देशभर धान रोपाइँ प्रभावित भएको छ ।

धानको अत्यधिक उत्पादन मध्य र पूर्वी क्षेत्रमा हुन्छ । तर, ती दुवै स्थानमा यस वर्ष औसतभन्दा कम परिमाणमा मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसम विज्ञ सुभाष रिमालले मध्य र पूर्वी भेगको धानबालीलाई आवश्यक परिमाणभन्दा कम पानी पर्ने अध्ययनले देखाएको जानकारी दिए ।

मनसुनी पानीले मात्रै साथ नदिने हो भने यस वर्ष धानबाली उत्पादनमा ५ प्रतिशत कमी आउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा मौसमका कारण ५ प्रतिशत कम उत्पादन हुने उल्लेख छ । अर्थात् ५६ लाख १० हजार टन हाराहारीमा धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । समयमा रासायनिक मलसमेत उपलब्ध नहुने हो भने धानबाली उत्पादनमा थप परिमाणमा गिरावट आउने सम्भावना छ ।
अन्नपूर्णबाट

Logo