सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी

सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ । ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ ।

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ । प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । ‘प्रत्येक ब्लकमा दुई–दुईवटा भवन बनाइनेछ । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ तुलाधरले भने । १४ भवन रहेको कोलोनी सुविधा सम्पन्न हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभागले मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास निर्माणका लागि चालू आवभित्रै टेन्डर प्रक्रिया सक्ने गरी तयारी थालेको छ । विभागका महानिर्देशक मणिराम गेलालले यसै वर्ष टेन्डर सकेर आगामी तीन वर्षभित्र आवास तयार गर्ने योजना रहेको बताए । ‘चालू आवभित्रै टेन्डर प्रक्रिया सकेर आगामी तीन वर्ष भित्रमा आवास निर्माण सम्पन्न गरिसक्ने योजना छ,’ उनले भने ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने सबै भवन साढे दुई तलाका हुनेछन् । विभागका भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरका अनुसार भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ । त्यस्तै, पहिलो तलामा बैठक कक्ष, योगकोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा र दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठा हुनेछन् ।
नयाँ पत्रिकाबाट

Logo