तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो


काठमाडौं,
झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ। साताव्यापी युरोप भ्रमणका क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर उनी काम चलाउ सरकारकी प्रमुख भइसकेकाले महत्वपूर्ण विषयमा सहमति वा सम्झौता भने हुन सकेन । बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको बेलायती महारानीसँग पनि भेट हुन सकेन । बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रूपमा लिने गरिन्छ ।

कामचलाउ प्रधानमन्त्री भएका बेला भएको भ्रमण महारानीसँगसमेत भेट हुन नसक्नुलाई परराष्ट्र मामिलाका जानकारहरू गलत समयको भ्रमण र कूटनीतिक अपरिपक्वताको परिणाम भएको बताउँछन् । प्रधानमन्त्री ओलीले महारानीको सट्टा राजकुमार ह्यारीसँग भेट गरेर चित्त बुझाउनु परेको छ ।

कूटनीतिक मामिलाका जानकार मदनकुमार भट्टराई नेपाल र बेलायतको सम्बन्ध धेरै पुरानो र विशिष्ट किसिमको भएको बताउँछन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला महारानीसँग भेट हुन नसक्नुलाई पर्याप्त तयारीको अभाव भन्छन् । ‘पर्याप्त तयारी भएको भए बेलायती महारानीले नेपालका प्रधानमन्त्रीलाई भेट नदिने भन्ने कुरा हुँदैनथ्यो,’ उनले भने ।

महारानीसँगको भेटका लागि पहिलेदेखि नै समय लिनुपर्ने भए पनि नेपाली पक्षको तयारीको कमीले भेटघाट हुन नसकेको उनको अनुमान छ । ‘हाम्रो तर्फबाट पर्याप्त तयारी नपुगेरै १७ वर्षपछि नेपालका प्रधानमन्त्रीले बेलायत भ्रमण गर्दा पनि महारानीसँग भेट हुन नसकेको हो,’ उनले भने । बेलायतमा स्थायी सरकार नभएका बेला प्रधानमन्त्रीको भ्रमण भएको विषयलाई भने उनी पूर्वनिधारित कार्यक्रमका रूपमा अथ्र्याउँछन् ।

कहिलेकाहीँ उच्चस्तरीय कार्यक्रम तय भइसकेपछि त्यसलाई रद्द गर्न अप्ठेरो हुने भएकाले प्रधानमन्त्रीले बेलायत भ्रमण गरेको भट्टराईको तर्क छ । ‘उच्चस्तरीय भ्रमणको तय गर्दा लामो समयसम्म तयारी गर्नुपर्छ । भ्रमण तय भइसकेको अवस्थामा बेलायतमा प्रधानमन्त्रीले राजीनामा दिएकाले यसमा प्रधानमन्त्रीको दोष नभएको उनी बताउँछन् ।
नागरिकबाट

Logo